समाचार

सुनकोशीले बगाउँदा एक महिलाको मृत्यु, पानी पिउन खोज्दा चिप्लिएर दुर्घटना

दुम्जा । पानी पिउने क्रममा चिप्लिएर लडेकी एक महिलालाई सुनकोशी नदीले बगाउँदा निधन भएको छ । काभ्रे पाँचखाल गाउँपालिका १० बेलाकी ३४ वर्षीया सरस्वती रायमाझी दुम्जास्थित खैरेनीघाटमा पानी पिउने क्रममा चिप्लिएर सुनकोशीमा डुब्न पुगेको जनाइएको छ ।
खुर्कोट इलाका प्रहरी कार्यालयका अनुसार, दुम्जाबाट ३० किलोमिटर तल चैनपुरबाट सुनकोशीले बगाउँदै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उद्धारकर्ता मुल्कोटका विनोद श्रेष्ठका अनुसार, मान्छे बगाएको भन्ने हल्ला सुनेपछि मोटरसाइकलमा मुल्कोटका पाँचजना युवा लाइफ ज्याकेटसहित सुनकोशीमा पसेका थिए । निराश श्रेष्ठ, दीपक श्रेष्ठ, मनोज श्रेष्ठ, विनोद श्रेष्ठलगायतको टोलीले जोखिम मोलेर बर्षाको सुनकोशीको मुल्कोमा पुगेर महिलाको उद्धार गरेका थिए ।
प्रहरीका अनुसार, रामेछापको बेथानस्थित माइत हिँडेकी सरस्वती र उनका श्रीमान ओमबहादुर रायमाझी दुम्जामा ओर्लिएर कुशेश्वर दर्शन गरी खैरेनीघाटस्थित पुल तरेर गाडीको पर्खाइमा थिए । घाम चर्किएकाले पानी तिर्खा लाग्यो भनेर सुनकोशी किनारमा पुगेकी सरस्वती अचानक पल्टिएको मृतकका श्रीमान ओमबहादुरले जानकारी दिएको प्रहरीले जनाएको छ ।
महिलालाई सुनकोशीले बगाएपछि स्थानीय र प्रहरीले ट्युवको सहायताले बीचबीचमा उद्धारको प्रयास गरे पनि करिव ३० किलोमिटर तल चैनपुरबाट मात्र उद्धार सफल भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६