समाचार हेडलाईन न्युज

काठमाण्डौं ४ मा खड्काको नेतृत्वमा बन्यो ३५१ सदस्यीय आन्दोलन परिचालन समिति

सुनकोशी न्युज
२०७७ माघ २६ गते सोमबार
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले चालेका विभिन्न असंवैधानिक प्रतिगमनकारी कदमविरुद्ध संघर्ष गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाण्डौं निर्वाचन क्षेत्र नं. ४ ले बागमति प्रदेश सदस्य बिदुर खड्काको नेतृत्वमा ३५१ सदस्यीय आन्दोलन परिचालन समिति निर्माण गरेको छ ।

सोमबार बुढानिलकण्ठ–१० कपनस्थित मिलनचोक पार्टी भेन्युमा समितिको घोषणा भएको र प्रथम बैठक सम्पन्न भएको हो । नेकपा केन्द्रीय सदस्य तथा काठमाण्डौं जिल्ला सह–इन्चार्ज दिलिप महर्जन समितिको इन्चार्ज रहेका छन् ।

केन्द्रीय सदस्य तथा काठमाण्डौं जिल्ला सचिव हिमाल शर्मा, काठमाण्डौं महानगर कमिटिका इन्चार्ज जीवनराम श्रेष्ठ र जिल्ला सहइन्चार्ज महर्जनले संयुक्त रुपमा आन्दोलन परिचालन समितिको घोषणा गरेका हुन् । कार्यक्रममा केन्द्रीय सदस्य धर्मदत्त देवकोटा र काठमाण्डौं महानगर कमिटिका सचिव रविन्द्र श्रेष्ठको पनि सहभागिता रहेको थियो । बैठकमा क्षेत्रभित्र कार्यक्षेत्र रहेका जिल्ला सदस्यलगायत विभिन्न तहका कार्यकर्ताको सहभागिता रहेको थियो ।

बैठकले ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, र १३ तथा काठमाण्डौं महानगर पालिकाका वडा नं. १, ७, ८ र ३० गरी १२ वटा वडामा वडा संघर्ष समिति पनि निर्माण गरेको छ । वडाका अध्यक्ष वा सचिव संयोजक रहने र जिल्ला सदस्यको इन्चार्जशीप रहनेगरी वडा आन्दोलन परिचालन समिति गठन भएको छ । अहिले संयोजक र इन्चार्ज तोकिएको तर कमिटिले पूर्णता भने वडाको बैठक बसेर पाउने संयोजक खड्काले बताए ।

क्षेत्रीय संघर्ष समितिको बैठकले क्षेत्रमा महिला परिचालन गर्न कमला गौतम र हेमा अधिकारीको नेतृत्वमा महिला परिचालन कमिटि गठन गरेको छ । त्यसैगरी राजेश लामाको नेतृत्वमा युवा परिचालन कमिटि पनि निर्माण हुने घोषणा गरेको युवा संघ नेपालका केन्द्रीय सदस्य रविन गुरुङले जानकारी दिए ।

क्षेत्रीयस्तरबाट आन्दोलनलाई जिल्ला र केन्द्रसँग जोडेर सशक्त संघर्ष गर्न क्षेत्रीय आन्दोलन परिचालन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने इन्चार्ज महर्जनले जानकारी दिए ।

प्रकाशित मिति: सोमवार, माघ २६, २०७७