समाचार स्थानीय हेडलाईन न्युज

बाटोको माग राख्दै सुनकोशी गाउँपालिका कार्यालय घेराउ

सुनकोशी न्युज
२०७७ माघ १२ गते सोमबार 
सुनकोशी, सिन्धुली । महाभारत डाँडैडाँडा रेखाङ्कन गरिएको कृषि सडकको मार्ग परिवर्तन गरिएको भन्दै असन्तुष्टि जनाउँदै स्थानीयले सुनकोशी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

प्लेकार्डसहित उपस्थित भएका नागरिकले सुनकोशी गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । सरकारले बीपी राजमार्गको सोलाभञ्ज्याङ्ग–नागी–बन्दिपुर–काफ्लेचौरहुँदै काभ्रेको तालढुङ्गा जोड्नेगरी कृषि सडकको परिकल्पना गरेको थियो ।

सो सडकलाई स्थानीय नेताले बद्मासी गरी नागी–मझुवा–गैह्रीगाउँ–गाउँखर्क अमारेसम्म विस्तृत परियोजना प्रतिवेदन बनाई रेखाङ्कन तोडमोड गरेको आरोप स्थानीयवासीको छ ।

सडकका सम्बन्धमा स्थानीय नागरिकको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने अन्यथा कडा आन्दोलन गर्न स्थानीयवासी वाध्य हुने एक स्थानीयले बताए ।

यसअघि पुरानै रेखांकन अनुसार सडक निर्माणकार्य अगाडि बढाउन माग राख्दै स्वतन्त्र नागरिक समाजको नाममा सुनकोशी गाउँपालिका वडा नम्बर ७ र ५ को कार्यालयमा तालाबन्दी गरिएको थियो ।

प्रकाशित मिति: सोमवार, माघ १२, २०७७