समाचार हेडलाईन न्युज

नेकपा एकता जोगाउने भूमिका खेलिदिन राष्ट्रपति भण्डारीलाई चीनको सन्देश

सुनकोशी न्युज
२०७७ पौष १२ गते आइतबार
काठमाण्डौं । नेकपा अन्तरकलहका कारण चुलिएको राजनीतिक संकटका माझ नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेको छ ।

आइतबार साँझ ५ बजे सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यचौ नेतृत्वको टोलीले शितल निवासमा राष्ट्रपतिसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले आफ्ना राष्ट्रपति सी चिनफिनको सन्देश सुनाएको छ । स्रोतका अनुसार चीनले नेकपा फुट नचाहेको र एकताका लागि सहजीकरण गर्न चाहेको राष्ट्रपति सीको सन्देश भण्डारीलाई कुओले सुनाएका हुन् ।

यसअघि ८ फागुन २०७४ मा नेपाल आएका कुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरेका थिए । त्यसपछि नै पार्टी एकीकरणका लागि सातबुँदे प्रस्ताव तयार भएको थियो ।

पार्टी एकीकरणमा भूमिका निर्वाह गरेको चीनले नेकपा विवाद समाधानको प्रयास यस अघिदेखि नै गर्दै आएको छ । चिनियाँ राजदूत होउ यान्छीले विवाद समाधानका लागि पटक(पटक राष्ट्रपति भण्डारीसहित शीर्ष नेतासँग भेट गरेकी थिइन् ।

गत १४ मंसिरमा चिनियाँ रक्षामन्त्री वाङ् फेईले पनि नेपाल आएर नेकपा विवाद समाधानको प्रयत्न गरेका थिए । उनले पनि राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सीको सन्देश छाडेका थिए, ‘चीन नेकपाको विभाजन चाहँदैन, एकताको लागि तपाईंले भूमिका निर्वाह गर्नुस् ।’

उपमन्त्री कुओले पनि यस्तै सन्देश राष्ट्रपतिलाई सुनाएका स्रोतले बतायो ।

प्रकाशित मिति: आइतवार, पुस १२, २०७७