शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कमलामाई–५ का ३५ वर्षीय पुरुषको कोरोनाबाट काठमाण्डौंमा निधन

सुनकोशी न्युज
२०७७ पौष ८ गते बुधबार
सिन्धुली। सिन्धुली कमलामाई नगरपालिका वडा नं. ५ रानीखोलाका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट काठमाडौंमा मृत्यु भएको छ । खोकी लागेर उपचारका लागि चार दिनअघि काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना गरिएको ती पुरुषको हिजो राति मृत्यु भएको हो ।

गाडी चलाउँदै गर्दा खोकी लागेको र चिसो लागेको ठानेर भाले काटेर झोल खाएका ती पुरुषलाई निमोनिया समेत देखिएको अस्पतालले जानकारी दिएको छ ।

हिजो बिहानसम्म खाना खाएका उनलाई हिजो दिउँसो कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो । उनको राति निधन भएको वडाध्यक्ष पूर्णबहादुर खड्काले बताए ।

उनी रामेछाप, दोलखा, ओखलढुंगामा सामान ढुवानी गर्ने ट्रक चालक हुन् । उनको निधनपछि दाहसंस्कारका लागि पहल गरिएको  वडाध्यक्ष खड्काले जानकारी दिए ।

अहिलेसम्म कमलामाई नगरपालिका५ मा कोरोना संक्रमणबाट दुईजनाको निधन भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७