खेल मुख्य समाचार

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा डेव ह्‍वाटमोर नियुक्त

सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका डेव ह्वाटमोरलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकसहित विभिन्न पदाधिकारी नियुक्त गरेको जानकारी दिएको छ ।

क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजरका रुपमा नियुक्त गरेको छ । त्यस्तै रौनकबहादुर मल्ललाई संघको महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको पनि संघले जनाएको छ ।

ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो । उनले श्रीलंकाली राष्ट्रिय टिमपछि बंगलादेश, पाकिस्तान र जिम्बाब्वेको राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका थिए । मुख्य प्रशिक्षकको दौडमा ह्वाटमोरसहित भारतका चेतन शर्मा, श्रीलंकाका पुबुदु दासानायके, दक्षिण अफ्रिकाका लान्स क्लुसनर र नेपालका शेरबहादुर (सुनील) लामालगायत थिए ।

श्रीलंकाको कोलम्बोमा जन्मिएका ६६ वर्षीय ह्वाटमोरले अस्ट्रेलियाको राष्ट्रिय टिमलगायत विभिन्न क्लबबाट खेलेका थिए । दायाँहाते ब्याट्सम्यान ह्वाटमोरले ७ टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन् । उनले टेस्ट म्याचमा १३ इनिङ्समा २ सय ९३ रन बनाएका छन् । उनले सन् १९७५ देखि फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए ।

सन् १९८९ मा उनले क्रिकेट खेलाडीका रुपमा संन्यास लिँदै प्रशिक्षकका रुपमा करिअर सुरुवात गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, पुस २, २०७७