समाचार

भारतीयलाई नागरिकता: कर्मचारीमाथि गृहको अनुसन्धान

धनुषा र महोत्तरीका विभिन्न स्थानबाट आठ भारतीय नागरिकले झुटो विवरण पेस गरी नागरिकता लिएको सम्बन्धमा मन्त्रालयले ती जिल्लाका कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले झुटो विवरण दिएर नागरिकता लिएका भनिएका आठ व्यक्तिको प्रमाणपत्र रद्द गरिएको बताएसँगै तत्कालीन कर्मचारीमाथि अनुसन्धान हुने भएको हो।

मन्त्रिपरिषद्को बैठकले अशोक शाह, बिन्दे महतो, दानादेवी महतो, सोसिल महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द गरेको हो।

गृह मन्त्रालयका अनुसार धनुषाबाट बिन्दे र राजेन्द्रले २०४४ मा, राजेश्वरले २०३५ मा, दानादेवीले २०३५ मा, रामकिशोरले २०५३ मा, सोसिलले २०५८ मा र राजकुमारले २०६१ सालमा नागरिकता लिएका थिए।

उनीहरू भारतीय भएको हल्ला चलेपछि त्यहाँका जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी नागरिकता रद्द गर्न गृह मन्त्रालयमा पठाएको र सो निर्णयलाई गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएपछि रद्द भएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उनीहरूको नागरिकता रद्द भएको र उनीहरूले कसरी नागरिकता लिए भन्नेबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६