समाचार

धुम्बराहीमा ३ बजे सचिवालयको बैठक बोलाइयो

सुनकोशी न्युज
२०७७ कार्तिक २१ गते शुक्रबार
काठमाण्डौं । शुक्रबार अपरान्ह ३ बजे पार्टी कार्यालय धुमबराहीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनौपचारिक बैठक बोलाइएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिलयको बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बैठक बोलाउने विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । तर सहमति नभएको बताइएको छ ।

आज बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ । पार्टीमा पुनः विवाद बढेपछि ओलीपक्ष र प्रचण्ड–नेपाल पक्ष आ–आफ्ना पक्षका नेताहरुसँग बाक्लो छलफलमा लागेका छन् । यसैक्रममा प्रधानमन्त्री ओलीले प्रदेश नं. १ का आफ्ना गुटका नेताहरुसँग भर्चुअल मिटिङ गरेका छन् । त्यसैगरी प्रचण्ड र नेपालले पनि भेटघाट र छलफललाई बाक्लो बनाएका छन् ।

गत भदौ २६ गते पार्टी स्थायी समितिको मिटिङले पारित गरेका निर्णयहरु प्रधानमन्त्रीले उल्लंघन गर्न थालेपछि समाधान भएको भनिएको विवाद बल्झिएको हो ।

अध्यक्ष प्रचण्डले अर्का अध्यक्षलाई सचिवालयको बैठक बोलाएर छलफल गर्न पटकपटक आग्रह गर्दा पनि ओलीले नमानेपछि अन्य नेताहरुको सल्लाहमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएर यसबारे छलफल गर्न लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २१, २०७७