प्रदेश २ समाचार हेडलाईन न्युज

प्रहरी भर्ना रोक्न प्रदेश-२ का गृहमन्त्रीले हाले सवोच्चमा रिट

सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नेपाल प्रहरीले केही दिन अगाडि आह्वान गरेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले अधिवक्ता सुनीलकुमार चौहानमार्फत रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको रिटमा उक्त विज्ञापन उत्प्रेषणको आदेशद्वारा बदर गराउन माग गरिएको छ ।

प्रहरी समायोजन प्रक्रिया टुंगो लागेपछि मात्र नेपाल प्रहरीको रिक्त दरबन्दीको पूर्तिका लागि विज्ञापन गराउन परमादेशको माग गरिएको छ ।

संघीयताको मर्म अनुसार प्रदेशले गर्नुपर्ने प्रहरीको भर्ना नेपाल प्रहरी आफैंले गरेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको मन्त्री यादवले बताए । रिटमा प्रहरीको विज्ञापन बदर गराउन र अविलम्ब प्रहरी समायोजन गराउन माग गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७७