समाचार स्थानीय हेडलाईन न्युज

खुलामञ्चमा खाना खुवाउदा लाजहुने मेयरलाई संसदीय समितिले बोलाउने

सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
काठमाण्डौं । कोरोना माहामारीका कारण सरकारले गरेको लकडाउनका कारण धेरै व्यापार, व्यावसाय, कलकारखाना बन्द भए । दैनिक काम गरेर खाने मजदुरको रोजीरोटी खोसियो । गाउँमा घर हुनेहरु जसोतसो गरेर गाउँ गए र उतै खेतीपातीमा व्यस्त छन् । तर गाउँमा पनि केही नभएका र यता लकडाउन खुले पनि काम गुमाएकाहरुको जीवन सारै कठिन बन्यो । परिवार पाल्न नसक्ने अवस्था बन्यो ।

यस्तोमा विभिन्न संघसंस्थाले यस्ता मानिसलाई खुल्लामञ्चमा निशुल्क खाना खुवाउने अभियान चलाए । करिब ४ महिनादेखि खाना खुवाउने अभियान निरन्तर छ । झमझम पानी परिरहेका बेलामा पनि मानिसहरु खाना खान पाइने आशामा लाइनमा बसेका हुन्थे । यसो त त्यसरी पानीमा भिजेर खाना बाँड्नुभन्दा कुनै सुरक्षित स्थानमा लगेर खाना खुवाउन सामाजिक संजालबाट सल्लाह नदिएको होइन ।

तर खाना खुवाउनेहरुले त्यसको बेवास्ता गरे । खुल्लामञ्चमै खाना खुवाउने कार्य निरन्तर चल्यो । त्यसको विभिन्न कोणबाट टिकाटिप्पणी हुन थाल्यो । बहुमतको सरकार र समृद्धिका कुरासँग जोडेर यसको टिप्पणी हुन थाल्यो । सामाजिक संजालमा त्यसको ट्रोल बनाउन थाले । सरकारले गरेको राम्रा कामको वास्ता नगर्ने तर यस्ता कामको मात्रै प्रचार गरेर सरकारको बदनाम गर्ने कार्य भएको र यसले महानगरको गरिमालाई बदनाम गर्न खोजेको भन्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले खुल्ःलामञ्चमा खाना खुवाउन प्रतिवन्ध लगाएका थिए ।

साझा पार्टीले मेयरको कदमलाई चुनौति दिदै खाना खुवाउने कामलाई निरन्तर दियो । महानगरको कदमको चौतर्फि बिरोध भयो । यसै सिलसिलामा खुल्लामञ्चमा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुलामञ्चमा खाना नबाँड्न दिएको निर्देशनबारे काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई सोध्ने भएको छ ।

खुलामञ्चमा खाना नबाँड्न काठमाडौं महानगरले दिएको निर्देशनका विषयमा मेयर शाक्यलाई नै बोलाएर सोध्ने निर्णय भएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए ।

सभापति श्रीवास्तवका अनुसार बोलाउने मिति भने तय भएको छैन । ‘आगामी सोमवार वा मंगलबार बैठक राख्ने र छलफल गर्ने भन्ने भएको छ । छलफलमा शाक्यसहित उपत्यकाका मेयर फोरमका प्रतिनिधिहरुलाई समेत बोलाउनेछौं’ उनले भने ।

समिति बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले ‘कोभिड कोषमा भएको पैसा खर्च गरेर भए पनि खाना नपाएकाहरुलाई खाना खुवाउनुपर्ने बताउनुभयो । सांसद श्रेष्ठले अगाडि थपे, ‘काठमाडौंका मेयर हावादारी कुरा गरेर हिँडिरहनुभएको छ । तिनलाई समितिमा बेलाएर छलफल गर्नुपर्छ ।’

प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७७