समाचार हेडलाईन न्युज

स्कारपिओ भदौरेभीरबाट खस्दा पाँचको मृत्यु, तीन घाइते

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
कटारी । उदयपुरको भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च. ७१७१ नम्बरको स्कारपियो राति १२ बजे कटारी नगरपालिका–१४ स्थित सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्कीको मात्रै पहिचान खुलेको छ । अन्य तीनजनाको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ओखलढुंगा मानेभञ्याङ–९ की २२ वर्षीया कल्पना सार्की, २८ वर्षीय कुमारी सार्की र चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

स्कारपिओमा सवार यात्रीहरु भारतबाट दशै मान्न घर आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ।

अचानक ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको छ।

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७७