कृषि समाचार हेडलाईन न्युज

“बटरको म्याद ८ महिना भनेर लेख्नु त्रुटिपूर्ण छ” – जोशी

सुनकोशी न्युज
२०७७ असोज २७ गते मंगलबार
काठमाण्डौं । दुग्ध विकास संस्थान बालाजु आयोजनाका महाप्रवन्धक गोविन्दराज जोशीले बटरको म्याद नसकिएको दाबी गरेका छन् । ८ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने भनेर बटरको प्याकेटमा लेख्नै नमिल्ने उनको दाबी छ । उक्त म्याद नाघेको भनिएको बटर बजारमा नजाने पनि उनको तर्क छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले मंगलबार बालाजुस्थित डिडिसीको कार्यालयमा अनुगमन गर्दा उपभोग्य मिति सकिएको एक लाख ९४ हजार ९७५ किलो बटर फेलापारेको थियो । डिडिसीले उक्त बटर सुजल डेरी पोखराबाट खरिद गरेको हो ।

‘दूग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको छ, हामीले नमूना पनि ल्याएका छौं,’ बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले भने ।

बटरको प्याकिङमा उत्पादित मितिबाट आठ महिनाभित्र उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकांश बटरमा सो मिति नाघेको भण्डारीले बताए । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनावरीमा बनेको बटर गोदाममा भेटिएको हो ।

डिडिसीले सुजलसँग सम्झौता गरेर किनेको चितवन लगायतका किसानबाट पोखरामा सकलन गरिएको दुधबाट निर्मित उक्त बटर माइनस २० डिग्रीमा भण्डारण गरेको र सबैखाले गुणस्तर परीक्षण गरेर मात्रै घिउ बनाउने गरिएको आयोजना प्रमुख जोशीले बताए ।

डिडिसीको ल्याब अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड २०२२ अनुसार रहेको र यसरी राख्दा १८ महिनासम्म पनि घिउ नबिग्रीने उनले बताए । जनताको स्वास्थ्यसँग संस्था संवेदनशील भएकाले ढुक्क भएर डिडिसीका उत्पादन प्रयोग गर्न जोशीले आव्हान पनि गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, अशोज २७, २०७७