समाचार

राजेन्द्र महतोले सभामुखलाई ‘महाडकैत’ भनेपछि…

राष्ट्रिय जनता पार्टीका सांसद तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्तिलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाएका छन् । सोमबार सदनको बैठकमा विशेष समय लिएर बोलेका महतोको अभिव्यक्ति प्रतिनिधिसभा सञ्चालन नियमावलीको नियम २१ को (ख) र (ङ) बमोजिम रेकर्डबाट हटाएका छन् । सांसद महतोले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सरकारका प्रवक्ताले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरेको भन्दै आफ्नो मानहानी गरेको बताएका थिए ।

उनले राजेन्द्र महतो भन्ने व्यक्ति राजपाका नेता हो वा होइन भन्ने स्पष्ट नहुँदा सञ्चारमाध्यमले समेत आफ्नो चरित्र हत्या र मानहानी गरेको भन्दै आपत्ति जनाए र सरकारले माफी माग्नुपर्ने माग गरे । ‘भोलि कृष्णबहादुर महराचाहिँ महाडकैत र ऊ आजीवन कारबास भयो भनेर समाचार आयो भने के हुन्छ ?’ महतोले भने, ‘भोलि पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यस्तै आरोप आयो भने…।’

उनले नागरिकता रद्द हुने त्यो कुन राजेन्द्र महतो हो भन्ने स्पष्ट नपारी सञ्चारमन्त्रीले संवेदनशील विषयमा गम्भीर्य नअपनाएको बताए । सरकार चौतर्फी असफल भइरहेको बेला खोक्रो राष्ट्रवादले भ्रम छर्ने गरेको भन्दै महतोले आक्रोश पोखेका थिए । ‘समाचार प्रकाशित भएपछि मात्र गृहको प्रवक्ताले त्यो राजपाको नेता राजेन्द्र महतो होइन भनेर हुँदैन,’ महतोले भने, ‘यस्तो गलत  प्रचार प्रसार राज्यको पक्षबाट हुनु र सञ्चारमाध्यम पनि गैरजिम्मेवार हुनुले गम्भीर परिणाम ल्याउन सक्छ ।’

सांसद महतोले बोल्दा नकारात्मक भाषा र शब्द प्रयोग गर्दै कृष्णबहादुर महरा र पुष्पकमल दाहालको नाम लिनु संसदीय मर्यादाभित्र नपर्ने भन्दै नेकपा सांसद कृष्णभक्त पोखरेलले आपत्ति जनाएका थिए । उनले महतोको अभिव्यक्ति तत्काल रेकर्डबाट हटाउन माग गरेपछि सभामुख महराले अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: सोमवार, साउन २०, २०७६