समाचार हेडलाईन न्युज

खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? : कांग्रेस

सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिवार

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशबाट आउने नेपालीले सबै खर्च आफै बेहोर्नुपर्ने भन्ने सरकारको निर्णयको विरोध गरेको छ ।

मन्त्रिपरिषद बैठकले १६ भदौदेखि लागू हुनेगरी विदेशबाट नियमित र चार्टर्ड उडानमार्फत नेपालीलाई उद्धार गर्ने तर त्यसको खर्च हवाई टिकटसँगै वायुसेवा कम्पनीले लिन पाउने निर्णय गरेपछि कांग्रेसले त्यसलाई सर्वोच्च अदालतको आदेश विपरित भएको जनाएको छ।

गएको १ असारमा सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा ६ महिनादेखि बेरोजगार भएर खाडीमा बसेका नेपाली श्रमिकलाई चार्टर्ड फ्लाइटको महंगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको भन्दै नेपाली कांग्रेसले त्यस्ता श्रमिकलाई निःशुल्क स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।

“खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारा माथि अधिनायकवाद’ ?,” कांग्रेसले प्रश्न गरेको छ।

श्रमिक आफैले चार्टर्ड फ्लाइटको महंगो टिकट काट्नु पर्ने, होटेल क्वरेण्टीनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफै गराउनुपर्ने अनि गाउँ पुग्ने यातायात खर्च समेत आफै व्यहोर्नुपर्ने जस्ता कारणले सरकारसँग मानवताको भावना कम र व्यापारिक दिमाग बढी चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७