विदेश हेडलाईन न्युज

कोरोनाभाइरस विरूद्ध ८ वटा खोप तेश्रो चरणको परीक्षण

एजेन्सी – न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार अहिले १३५ वटा भन्दा बढी कोरोना (कोभिड-१९) का खोपहरू ‘प्री क्लिनिक्ल’ परीक्षणमा छन्।

यस चरणमा मुसा वा बाँदर जस्ता जनावरमा खोपले कस्तो प्रतिरोधी क्षमता देखाउँछ भनेर अध्ययन गरिन्छ। त्यसपछि मात्रै सुरक्षित रूपमा र थोरै सङ्ख्याका मानिसहरूमा सुरक्षा र खोपको मात्रा जाँच गर्ने उद्देश्य सहित पहिलो चरणको अध्ययन अघि बढाइन्छ।

हाल खोपले प्रतिरोधी प्रणालीमा पारेको प्रभाव पनि अध्ययन गर्ने गरी २० वटा खोपको पहिलो चरणको परीक्षण भइरहेको छ।

त्यस्तै दोस्रो चरणको परीक्षणमा १३ वटा खोप सामेल छन् भने यो परीक्षणमा सैयौँको सङ्ख्यामा मानिसहरू सहभागी हुने छन्।

यसमा मानिसहरूलाई उमेर समूह अनुसार छुट्याएर खोपले उनीहरूमा फरक फरक परिणाम दिन्छ वा दिँदैन वा कस्तो सुरक्षा प्रभाव पार्छ भनेर हेरिदैँछ।

हाल कोरोनाभाइरस विरूद्ध ८ वटा खोपको तेश्रो चरणको परीक्षण गर्ने प्रक्रिया चलिरहेको द न्यूयोर्क टाइम्सले जनाएको छ।

यस चरण अन्तर्गतको परीक्षणमा हजारौँ मानिसहरूमा खोपको दिने सुरक्षा, प्रभावकारीता र दुर्लभ प्रकारका नकारात्मक असर हेर्ने गरिन्छ।

अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिश स्वीडिस कम्पनी एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको तेश्रो चरणको परीक्षण ब्राजिल, अमेरिका, दक्षिण अफ्रिका र दोस्रो चरणको परीक्षण भारत र ब्रिटेनमा भइरहेको छ। यी खोपहरुबाट हालसम्म प्रारम्भिक अध्ययनमा सबैभन्दा राम्रो सङ्केत देखिएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७