मुख्य समाचार समाचार

उद्धार उडान रोकिदा मन्त्री पोखरेल र भट्टराइबीच तनाव

सुनकोशी न्युज
२०७७ भाद्र ४ गते विहिबार
काठमाण्डौं । विदेशमा रहेका नेपालीको उद्धार गर्ने विषयलाई लिएर उपप्रधान एवं रक्षामन्त्री तथा सिसिएमसिका संयोजक ईश्वर पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराईबीच विवाद भएको छ । मंगलबार दुबईबाट नेपाल एयरलाइन्सको विमानबाट नेपाल फर्किन लागेका २६६ यात्रुलाई नलिई फर्केपछि दुई मन्त्रीबीच तनाव भएको हो ।

यसरी तीन महिना अघिदेखि नेपाल आउन एनएसीको टिकट काटेर सबै प्रकृया पूरा गरेर बसेका यात्रुलाई विमानस्थलमा अलपत्र छाडेर विमान रित्तै नेपाल फर्किनुमा मन्त्रीहरु एकले अर्कोलाई दोषारोपण गरेर मिडिया–वार गरिरहेका छन् । तर मंगलबारै अन्य दुई निजी विमानले भने यात्रु भरेरै नेपाल आएका थिए । सगै फर्केको एनएसीको विमान मात्रै रित्तै फर्किएको थियो ।

मन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन नपाएका हुन् । यस विषयलाई लिएर सरकारका दुई मन्त्रीबीच विवाद भयो ।

यसअघि सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने निर्णय गरेको थियो । तर सोमबार साँझ सिसिएमसीले कोरोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली नल्याउन पत्राचार ग¥यो । घर फर्कन दुबई विमानस्थलमा तयारी अवस्थामा बसेका दुई सय ६६ नेपाली सिसिएमसीको यस्तो पत्राचारका कारण उड्न पाएनन् । सिसिएमसीको निर्णयको पर्यटनमन्त्री योगेश भट्टराईले विरोध गरेपछि विवाद भएको छ ।

पोखरेलको संयोजकत्वमा गठित ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उद्धार उडान गर्न रोक लगाएको हो । स्रोतका अनुसार संयोजक पोखरेलले सरोकारवाला अन्य पक्षसँग समन्वय नगरी विदेशबाट उद्धार उडान गर्न रोक लगाएको मन्त्री भट्टराईको आरोप छ । तर पर्यटन मन्त्री स्वयम् सदस्य रहेको उक्त समितिले गरेको निर्णयमा अनभिज्ञता देखाउदै सिसिएमसीको बिरोध गरेको देखेर सरोकारवालाहरु अचम्ममा परेको विश्लेषकहरु बताउछन् ।

सिसिएमसीको मंगलबार बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सिसिएमसीले उडान भर्न रोक लगाउँदा सरकारको छविसमेत बिग्रेको तर्कसहित विरोध गरेका थिए । उनले सिसिएमसीले सरोकारवाला पक्षसँग समन्वय नगरी उद्धार उडानमा रोक लगाएको भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित मिति: बिहिबार, भदौ ४, २०७७