समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीमा ६ स्थानीय तहमा सटडाउन, अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द

सुनकोशी न्युज
२०७७ साउन ३२ गते आइतबार
सिन्धुली । कोरोना भाईरसको संक्रमण बढेपछि सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन गरिएको छ । जिल्लाका नौं वटा स्थानीय तहहरुमध्ये पाँच वटामा सटडाउन गरिएको हो । दुई नगरपालिकासहित पाँचवटा स्थानीय तहहरु कम्तिमा एक सातादेखि दुई हप्तासम्मका लागि सर्टडाउन गरिएको हो ।

जिल्ला सदरमुकाम रहेको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोसी, मरिण, फिक्कल र गोलन्जोर गाउँपालिकामा सर्टडाउन गरिएको हो । सदरमुकाम क्षेत्रमै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कमलामाई नगरपालिकाले गत मंगलबार रातिबाटै एक साताका लागि नगर क्षेत्र लकडाउन गरेको छ ।

मरिण गाउँपालिकाले आइतबार राती १२ बजेबाट लागु हुनेगरी १० दिनका लागि सर्टडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन केन्द्र (सिएमसी) को शनिवार बसेको बैठकमा साउन ३२ गते आइबारबाट भदौ १० गतेसम्मका लागि सर्टडाउन गर्ने निर्ण गरिएको गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जनाए । ‘गाउँपालिका भित्र यातायातका साधन संचालनमा रोक लगाइएको छ । अनावश्यक काममा हिडडुल गर्न र पशु तथा मासुजन्य बस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ,’ उनले भने ।

बैंक तथा वित्तिय संस्था र आन्तरीक बाहेकका कुनैपनि सिफारीसहरु समेत गर्न बन्द भनिएको छ । जिल्लाका मुख्य सडकहरु विपी, मध्यपहाडी र मदनभन्डारी राजमार्गमा संचालन हुने यातायातका साधनहरुले जिल्ला क्षेत्रभित्र रोक्न, यात्रु चढाउन तथा ओरोल्न पाउने छैनन् । राजमार्गका होटलहरु पूर्णरुपमा बन्द गरिएको छ ।

दुधौली नगरपालिकाले शुक्रबार राती १२ बजेबाट लागु हुनेगरी भदौं ६ गते मध्ये रातीसम्मका लागि सर्टडाउन गरेको छ । उक्त समयसम्मका लागि स्वास्थ्य संस्था र सुरक्षा निकाय बाहेक नगरपालिका भित्रका सम्पूर्ण कार्यालयहरु पूर्णरुपमा बन्द गरिएको नगरपालिकाका मेयर घनश्याम राउतले जानकारी दिए ।

जिल्लाको सुनकोसी गाउँपालिकाले पनि शुक्रबार रातीबाट गाउँपालिका क्षेत्र सर्टडाउन गरेको छ । गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराका अनुसार आगामी भदौ १३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालयहरु बन्द गरिएको छ ।

‘खाद्यान्न, तरकारी लगायतका पसलहरु प्रत्यक दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म तिन घण्टा संचालन हुने छन् । त्यस बाहेकका सबै सेवा बन्द हुने छन्,’ उनले भनिन् । विपी राजमार्गमा संचालन हुने सवारी साधनहरुमा समेत स्वास्थ्य सुरक्षा अपनाउन कडाई गरिने छ ।

गोलन्जोर गाउँपालिकामा पनि गत बिहिबारबाटै सर्टडाउन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीका अनुसार बिहिबारदेखि आगामी भदौ ५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । पालिका क्षेत्रमा पिसिआर टेष्टलाई तिव्रता दिइएको समेत उनले जनाए ।

त्यसैगरी फिक्कल गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक सबै कार्यालय, होटल, सार्वजनिक कार्यक्रम, यातायात, पसल लगायत बन्द गरेको छ । गाउँपालिकाले शनिबार एक विज्ञप्ती जारी गर्दै उक्त निर्णय गरेको हो । आगामी दुई हपतासम्मको लागि बन्द गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

प्रकाशित मिति: आइतवार, साउन ३२, २०७७