समाचार हेडलाईन न्युज

तुइन चुँडिदा महिला बेपत्ता

सुनकोशी न्युज
२०७७ साउन २० गते मंगलबार
काठमाण्डौं । दोर्दी खोलामा रहेको तुइन चुँडिदा लम्जुङमा एक महिला बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् ।

उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । ‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ डीएसपी थापाले भने । उनले आज पनि खोजी कार्य जारी राखिएको बताए ।

स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए । फूलमायासँगै तुइनमा चढेका १७ वर्षीय विकास घले भने चुडिएको डोरी समातेर जोगिएका छन् । उनीहरु जनैपूर्णिमाको दिन जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाँदै थिए । यो घटना सोमबार मध्यान्हको हो ।

सरकारले दुई वर्षभित्र तुइन विस्थापन गर्ने नीति लिए पनि कतिपय स्थानमा स्थानीयको अवरोधका कारण तुइन विस्थापनमा समस्या उत्पन्न भएको सस्पेन्सन् ब्रिज डिभिजनका प्रमुख कुमार थापा बताउनुहुन्छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७७