समाचार हेडलाईन न्युज

सोती घटना प्रतिवेदन : लखेटेर कुटीकुटी मारेको देखियो

सुनकोशी न्युज
२०७७ असार ३१ गते बुधबार,
काठमाण्डौं । रुकुमको चौरजहारीमा मारिएका नवराज विक लगायत ६ जना युवाहरुको हत्या नै भएको संसदीय छानबिन समितिको प्रतिवेदनले ठहर गरेको छ । केटी पक्षले वडा अध्यक्षको उपस्थितिमा जाजरकोटबाट केटी भगाउन गएका ती युवाहरुलाई लखेटेर ढुंगाले हानेर कुटीकुटी मारिएको छानबिनको क्रममा खुलेको समितिका संयोजक संघीय सांसद देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

घटनामा मारिएका युवाहरु कम अमेरका भएको, झैझगडा गर्ने नियतले नभै आफ्नी प्रेमिकाको अनुरोधमा उनलाई भगाउन भनेर साथीहरुको साथमा रुकुमको सोती पुगेका बेला केटीको परिवारको नेतृत्व र वडाध्याक्षको उपस्थितिमा केटीपक्षले उनीहरुको हत्या गरेको प्रतिवेदनमा उल्लेख छ । केटा दलित भएका कारण केटीपक्षले छोरी दिन नचाहदा उघना घटेको निश्कर्ष प्रतिवेदनमा उल्लेख छ ।

उक्त संसदीय समितिले सोही निष्कर्षसहितको प्रतिवेदन मंगलबार अपराह्न सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । समितिले उक्त घटनाको बारेमा छानबिनको क्रममा पीडित परिवार, गोताखोर, स्थानीयसँग बुझिएको पौडेलले स्पष्ट पारे । प्रतिवेदन बुझाउनेक्रममा संक्षिप्त प्रतिक्रिया दिदै उनले उक्त घटना हुनुमा जातीय विभेद प्रमुख कारण भएको ठहर गरेको समितिको निष्कर्ष सुनाए ।

प्रतिवेदनमा रुकुम चौरजहारी सोती घटना घट्नुपूर्व, घटना घटेको समय र घटनापश्चात् अपनाउनुपर्ने अपराध अनुसन्धानको विधि प्रक्रियामा अपर्याप्तता एवं त्रुटि देखिएको निष्कर्ष प्रस्तुत गरिएको छ । समितिले घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने सिफारिस पनि गरेको छ ।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

सभामुख सापकोटाले विषम परिस्थितिमा पनि निर्धारित समयभित्रै कार्य सम्पन्न गरी प्रतिवेदन बुझाएकोमा समितिलाई धन्यवाद ज्ञापन गरे । उनले प्रतिवेदन अध्ययन गरेर छिटै अघि बढाउने बताए ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७