समाचार हेडलाईन न्युज

सम्झौता गरेर अगाडि जाने विषय जस्तो अहिले परिस्थिति छैन – भौतिक पूर्वाधार तथा यातायातमन्त्री

 

सुनकोशी न्युज
२०७७ असार २८ गते आइतवार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आन्दोलनमा जस्तै माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गरेर अगाडि जाने विषय जस्तो अहिले परिस्थिति नभएको हुँदा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

विभिन्न माग राखी आइतबार ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्यवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले सवारी चलाउन आग्रह गरेका हुन् । सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भन्दै अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले सवारी चलाउँदिनँ भन्न नहुने नेम्वाङले बताए ।

यातायात व्यवसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफूहरुसँग कुनै छलफल नगरी निर्णय गरेको प्रति असन्तुष्टि जनाए । व्यवसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकलाई सुरक्षित नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीहरुका समस्या सम्बोधन गर्न माग गरेका थिए ।

प्रकाशित मिति: आइतवार, असार २८, २०७७