समाचार हेडलाईन न्युज

एकता जोगाउन नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा आज पनि धर्ना

सुनकोशी न्युज,
२०७७ असार २१ गते सोमबार,

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद समाधान गर्न नेताहरुलाई दबाब दिन तथा पार्टीलाई विभाजनबाट जोगाउन दबाब दिनका लागि नेकपाका केही नेताहरुले पार्टी कार्यालय धुम्बराहीमा धर्ना दिने कार्यलाई सोमबार पनि जारी राखेका छन् ।

ओलीले पार्टी बहुमतको निर्णय मान्नुपर्ने भए पार्टी नै फुटाउने भनेर मन्त्रीहरुलाई ब्रिफिङ गरेपछि कार्यकर्तापंक्तिमा पार्टीको भविष्यलाई लिएर चिन्ता बढेको हो । विवाद मिलाउन र पार्टीलाई एकतावद्ध राख्न दबाब दिनको लागि धुम्बराही पार्टी कार्यालयमा नेकपा काठमाण्डौंका सचिव हिमाल शर्मा, बागलुङकी इन्चार्ज बलावती शर्मा, लेखनाथ न्यौपाने, कुमार पौडेल, धावा लामा, ठाकुर गैरे, कृष्ण केसी लगायत केन्द्रीय सदस्यहरुको नेतृत्वमा धर्ना बसिएको छ । उनहिरुले कम्युनिष्ट पार्टीमा नेता होइन, नीति प्रधान हुन्छ भन्ने ब्यानर र प्लेकार्ड सहित धर्ना बसेका छन् ।

असार १० गतेबाट जारी नेकपा स्थायी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको आचरण, कार्यशैली र पार्टीको निर्णयभन्दा बाहिर गएर काम गर्ने शैलीले समस्या पैदा गरेको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेको थियो ।

प्रधानमन्त्री बालुवाटारमा बसेको बैठकमा बोल्ने स्थायी कमिटि सदस्यहरुमध्य लगभग सबैले उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै उनको आलोचना गरेपछि भोलिपल्टको बैठकदेखि उनी उपस्थित नै हुन छाडेका थिए । आफैलाई सन्चो नभएको भन्दै बैठकमा उपस्थित नहुने ओली अन्य बाहिरी कार्यक्रममा भने दुईघण्टासम्म बसेर भाषण गर्ने गरेका थिए । उनको यो व्यावहारबाट रुष्ट नेताहरुले ललितपुरको अगेनो रेष्टुरेन्टमा बैठक बसेर ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने निश्कर्ष निकालेका थिए ।

उक्त निस्कर्षपछि ओलीले राष्ट्रपतिलाई भटेर आफूले कठोर कदम चाल्ने बताएका थिए भने प्रचण्डसँगको भेटमा अब पार्टी फुटेको, आफूले नयाँ पार्टी बनाउन लागेको बताएका थिए । उनले कार्यकारी अध्यक्ष प्रचण्डलाई तपाई माधव नेपालपटि बस्ने कि म पट्टि बस्ने, छिटै फैसला गर्नु भनेका थिए ।

त्यसपछि ओलीलाई दबाब दिने र पद छाड्न लगाउने कुरामा सबै नेता एकमत भएका थिए । त्यसबीच ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग दुईपटक भेटेर आफूले पार्टी फुटाउन लागेकाले सरकारमा सहभागी हुन अनुरोध गरिसकेका छन् । आइतबार ओली र प्रचण्ड भेट गरिरहेकै बेला नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देउवालाई उनकै निवासमा भेटेर त्यही कुरा दोहो¥याका थिए । उक्त कुरा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बताएका थिए ।

 

प्रकाशित मिति: सोमवार, असार २२, २०७७