बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ असार १८ विहिबार,
नराम्रोमा राम्रो खोज्ने प्रयास गर्ने र नमिल्नेहरुसँग पनि मिल्ने प्रयास गर्ने प्रचण्डपथको मौलिक सिद्धन्त अनुसार माओवादी नेतृत्वले गलत दिशामा अघि बढेको एमालेसँग जनयुद्धकालमै कार्यगत एकताको प्रयास गरेको हो । भारतको सिलिगुडी, रुकुमको कोटवाडा लगायतमा एमालेका माधव नेपाल, वामदेव गौतम लगायतका शीर्षनेतासँग भएको वार्ता त्यो प्रयासको नमूना थियो । रोल्पामा गर्ने भनि निधो भएको माओवादी–सातदलको वार्ता सुरक्षाको कारण देखाई गिरिजाप्रसाद कोइराला रोल्पा जान नसक्ने भनेपछि भारतको नयाँ दिल्लीमा वार्ता गरी भएको १२ बुंदे सहमति, १९ दिने आन्दोलनको सहकार्य पनि त्यही नीतिको कार्यन्वयन थियो । त्यो बेला वर्तमान प्रधानमन्त्री केपी ओली स्पष्ट रुपमा आन्दोलन, गणतन्त्र र संघीयताका बिरुद्धमा थिए, उनले नेपालमा आन्दोलन गरेर गणतन्त्र ल्याउछु भन्नु गोरुगाडामा अमेरिका पुग्छु भन्नु हो भनेर जनताको आन्दोलनलाई अपमान गरेर राजालाई सघाएका थिए । यो घटना सारा नेपालीलाई थाहा छ ।
२०६४ सालको संविधानसभाको चुनावमा समान हैसियतमा पार्टी एकता गरेर चुनावमा जाउँ भन्दा एमाले मानेन, खासगरी ओली गुट त्यसको बिरद्धमा वक्तव्यबाजी गर्न थाल्यो । त्यो चुनावले एमालेको घमण्ड चकनाचुर भयो । २०७० को चुनावमा माओवादीको घमण्ड तोडियो । २०७४ सालको चुनावमा चोट खाएका दुबै पार्टीले जनताको बामएकताप्रतिको सेन्टीमेन्ट देखेर चुनावी तालमेल गरी बहुमत ल्याउन सफल भए । तर एमालेको नेतृत्व, खासगरी ओली गुटमा फेरि दम्भको चुचुरो ठडियोे । उनीहरु एमालेको संगठन र ओलीको टुक्काले पार्टीले बहुमत ल्याएकाले माओवादीसँग एकता आवश्यक छैन भन्न थाले । ओली गुट अहिले पनि त्यही भन्दैछ ।
माओवादीलाई एकदुई मन्त्रालय दिएर सरकारमा सामेल गर्ने तर पार्टी एकता नगर्ने मनसायमा देखिएका थिए । मार्गनिर्देशक सिद्धान्त, झण्डा, चुनाव चिन्ह, नेतृत्व र सरकारको नेतृत्व एमालेको हुनुपर्छ भनेर खड्ग ओलीले अत्तो थाप्नु, त्यसलाई झन तिखारेर इश्वर पोखरेलहरु बुर्कुसी मार्नु र ओली गुटका मात्रै नभएर माधव नेपाल गुटका नेतालाई पनि बहकाएर एकताबिरुद्ध निरन्तर बोल्न लगाउनुले एमालेका नेताहरु, त्यसमा पनि ओली गुट पार्टी एकतामा इमानदार थिएन, इच्छुक थिएन भन्ने प्रस्ट हुन्थ्यो । इश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक रुपमै अध्यक्ष मान्न सकिदैन भनेर धेरैपटक भनेका छन् । त्यो अभिव्यक्ति नियोजित रुपमा अहिलेसम्म ओली गुटमा तलसम्म भन्न लगाइएको छ ।
त्यहीबीच पार्टीएकतालाई भन्दा सरकारमा जाने कुरालाई बढी महत्व दिएर हतार–हतार ओलीलाई प्रधानमन्त्री बनाइयो । पार्टीएकता र सरकार निर्माण सँगै गर्ने भनिए पनि ओली हतरपतर प्रधानमन्त्री बनिहाल्ने कार्यनीतिमा सफल भए, तर पार्टी एकता गर्ने कुरामा अलमल गर्न थाले । कहिले के निहँ झिकेर त कहिले के, उनी एकता नगर्ने मनसाय मात्रै प्रकट गर्न थालेका थिए । पहिला एकताको पक्षमा खासै नदेखिएका माधव नेपाल र ओली गुटका बाहेक एमाले नेताहरु एकाएक एकताको पक्षमा देखिएपछि ओलीलाई दबाब भयो र एकता भयो । माओवादीलाई कुनै पनि निर्णायक र महत्वपूर्ण जिम्मेवारी नदिनेगरी एकताको मोडालिटि बनाएपछि एकता तन्कीएको थियो । पछि दुई अध्यक्ष रहने र सरकार आधाआधा कार्यकाल चलाउने सहमति बनेपछि एकता घोषणा भयो ।
संगठनमा पनि माओवादीले आधाआधा भन्दा उनीहरुले ३०÷७० भनेर अपमान गरे । पछि ६०÷४० को मोडालिटीमा एकता गरेर माओवादीको मनोबल यसै गिराएर एकता गर्न उनीहरु सफल भए । यसले पार्टीभित्र एमालेका नेताहरुमा आफूहरु ठूलो भएको दम्भ जन्म्यो भने माओवादीमा नेतृत्वले गलत गरेर यसो भएको भन्ने लघुताभाष पैदा भयो । जसको प्रभाव सबैखाले र तहका संगठनमा एकताअघि र एकतापछि पनि कायम छ । त्यो दम्भ ओली गुटका मान्छेहरुमा तलदेखि माथिसम्म उस्तै छ । हो, यही दम्भ पार्टी एकताको सबैभन्दा ठूलो अबरोध हो । एकता भएका संगठनमा पनि यही मनोविज्ञानका कारण सांगठानिक काम हुन सकेको छैन । यो मनोविज्ञान एकताको लागि सलह किरा जस्तै हो । यसले पार्टी एकतालाई कमजोर बनाउने मात्रै नभएर समग्र पार्टीलाई धरासायी पार्नेछ ।
पत्रकारहरुको संगठन प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल हुन् भने उपाध्यक्ष गणेश बस्नेत । अध्यक्ष दाहालले ओलीबिरुद्ध वा एकताबिरुद्ध कुनै गतिविधि गरेका छैनन्, कुनै अभिव्यक्ति दिएका छैनन् । तर पूर्व प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले आफ्ना गुटका पत्रकारहरु प्रयोग गरेर मिडिया र सामाजिक संजालमा पूर्वमाओवादीका नेताहरुलाई जसरी पनि बदनाम गर्ने, जनयुद्ध लगायत आन्दोलनको बदनाम गर्ने र पार्टी एकताबिरुद्ध निरन्तर अफवाह फैलाउने अभियान चलाएका छन् । जसको पछिल्लो सिकार उनीहरुले स्थायी समिति सदस्य हरिवोल गजुरेललाई बनाए । लडेर ढाडमा चोट लाग्नाको कारणले सदनमा उपस्थित हुन नसकेका गजुरेललाई उनीहरुले झुटो अफवाह फैलाएर बदनाम गर्न खाजे । त्यस्ता अभियान उनीहरु हिजाका दिनदेखि नै निरन्तर चलाइरहेका छन् । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताको मानमर्दन गर्न पनि उनीहरुले त्यो झुण्डलाई प्रयोग गर्ने गरेका छन् । त्यो गिरोहमा प्रधानमन्त्रीका प्रेस हेर्ने सूर्य थापादेखि इ–सेवाका साउजी जो प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार भन्दै अरुका फेसबुक र अनलाइन ह्याक गर्दै जेपायो त्यही लेख्ने काममा प्रयोग गर्ने गरिएका छन्, तिनीसम्म संलग्न छन् ।
ओली गुटको दम्भ, सोंच नवदलिकन उनीहरुको चरित्रमा सुधार आउनेवाला छैन । उनीहरुको चरित्र, संस्कार र सोचाइमा परिवर्तन नआएसम्म आफ्नो गुटभन्दा पर पार्टीलाई देख्न र बुझ्न सक्ने दृष्टि प्राप्त हुदैन । जबसम्म आफ्नो गुटभन्दा पर पनि पार्टी छ, नेताहरु छन्, संगठन छ र त्यसको मर्यादा, अनुशासन छ, विधान छ, भन्ने कुराको बोध हुदैन, तबसम्म पार्टीमा सुधार हुदैन । पार्टीमा सुधार नभएपछि एकताको नारा लगाएर मात्रै एकता बाच्दैन । यसरी बचाइएको एकताले पार्टीको आन्तरिक जीवनलाई मजबुत पार्दैन, बरु धमिराले काठलाई भित्रभित्रै सखाप पारेको जस्तो सखाप पार्ने छ । अहिले नेकपामा गुटहरुबीच जुनखाले टकरावको समस्या देखापरेको छ, त्यसको समाधान प्राविधिक विषयको हल गरेर मात्रै सम्भव छैन । त्यसले बाहिरी आवरणमा पर्दा हाल्ने काम मात्रै गर्नेछ । भित्र त धमिराले आफ्नो काम जारी नै राखेको हुन्छ । ती धमिराले पार्टीका सबै अवयव आगामि चुनावसम्म गल्र्यामगुर्लुम ढल्ने स्थितिमा पु¥याइसकेका हुनेछन् ।
एकता हुदाँका बखत पार्टीप्रति जनताको जुन भरोसा र सम्मान थियो, आज त्यो नरहनुले पाटीृको यो अवस्थाको संकेत गर्दछ । यसर्थ, यदि ओली गुटले आफू सोह्रैआना ठिक छु, सुध्रिनु त प्रचण्ड, नेपाल र झलनाथले पर्छ, आफूले सरकार र पार्टीमा निरन्तर गरेका बदमासीलाई पार्टीले आँखा चिम्म गरेर ल्याप्चे मात्रै ठोकिरहनुपर्छ भन्ने अझै लागिरहेको छ भने र ओली गुटले पार्टीमा पैदा गरेको समस्या समाधानका लागि ओलीले कुनै त्याग नगर्ने हो भने वर्तमान पार्टी ओली गुटको लागि निरन्तर समस्या बनिरहने निश्चित छ । उनीहरुको त्यो दुरासय पूरा गर्न वर्तमान नेकपा पार्टी किमार्थ तयार छैन । त्यसैले यो पार्टी उनीहरुको हितमा छैन ।
त्यसैगरी, उनीहरुका हरेक क्रियाकलापले पार्टीमा, देशमा समस्या मात्रै पैदा गरेको छ । देशको गुमेको भूभाग फिर्ता ल्याउन दशकोंदेखि प्रयासरत सहकर्मीलाई उपहास गर्ने ओलीले एकाएक नक्सा प्रकाशन गरेर नक्कली राष्ट्रवादको मुखुण्डो ओडे । तर नेपाललाई उपनिवेश स्वीकार्न वाध्य बनाउने आमेरिकी र भारतीय योजनाको एमसिसि जसरी पनि पास गर्न मरिहत्ते गरेर नक्कली राष्ट्रवादको मुखुण्डो उदाङ्गो बनाएका छन् । भारतीय र अमेरिकी योजनाको एमसीसी पास गर्न मरिहत्ते गर्ने ओली आफैं, अनि उनी आफैं भारतले उनलाई सरकारबाट हटाउन थाल्यो भनेर हल्ला गरिरहेका छन् । बरु एमसिसि पास गर्न असफल भएका कारण उनीसँग अमेरिका र भारत भने पक्कै रिसाएको हुनसक्छ ।
ओली गुटको हरकतले पार्टी बदनाम हुने भएकाले पार्टीमा उनीहरुको गतिविधि अनुमोदन नहुने, लागु नहुने स्थिति छ । पार्टीले गरेका निर्णय उनीहरुको उदण्डताबिरद्ध हुनाले ओलीगुटले लागु नगर्ने अवस्था अहिले पार्टीमा आएको छ । यस्तोमा आफूले कार्यान्वयन गर्न सक्ने खाले निर्णय गर्ने पार्टी उनीहरुलाई चाहिएको छ भने पार्टीले गरेका निर्णय मान्ने नेता अहिले नेकपालाई चाहिएको छ । पार्टी उनीहरुको समस्या बनेको छ भने उनीहरु पार्टीका लागि समस्या बनेका छन् । यस्तो अवस्थामा उनीहरुले पार्टीसँग सम्वन्ध बिच्छेद गरेर नयाँ ढंगले अघि बढेकै राम्रो हुन्छ ।
उनीहरुले पार्टी छाडेर अर्को ढंगले अघि बढ्न चाहेका छन् भने आश्वसनको अस्थायी पर्खाल बनाएर अड्याउनुको कुनै तुक छैन । केही समयपहिला पार्टीले गरेको निर्णय नमानेर उनले पार्टी आफ्नो लागि प्रतिकुल भएको सन्देश दिइसकेका छन् । पार्टीले गरेको निर्णय आफूलाई मान्नै मन नलाग्ने भएको मनोविज्ञान ओलीमा देखिन्छ । मान्नुपरे बरु पार्टी नै फुटाइदिन्छु भन्ने योजना अनुसार पार्टीफोड्ने अध्यादेश रातारात जारी गर्न लगाएर यसमा राष्ट्रपतिलाई पनि फसाएका थिए । बरु आइपरे पार्टी फोड्ने, छोड्ने तर पार्टीका कुनै पनि निर्णय र सहमति नमान्ने उनको हठ पार्टीको लागि मात्रै नभएर उनकै लागि पनि घातक सिद्ध हुदैछ । उनका गुटीय अनुयायीका लागि त यो मौतका कुवा नै सावित हुने निश्चित छ ।
फुट अप्रिय हुन्छ, तर सधैं अहितकर हुदैन । इतिहास साक्षी छ । नेकपाको इतिहास फुट र एकताको द्वन्द्वात्मक लुकामारीसँग बिचरण गरेरै अहिलेको अवस्थामा आइपुगेको स्पष्ट छ । अहिले ओलीले देखाएको जस्तै हिजोका मूल नेताले बेलाबेलामा देखाएको गलत दम्भबिरुद्ध बिद्रोह गरेरै नेपालमा कम्युनिष्ट पार्टीले विकास गर्न सकेको हो । इतिहासले बेलाबेला अप्रिय निर्णयको पनि माग गर्दछ । त्यो गर्ने गरिएको पनि छ । अहिले एउटा अर्को अप्रिय निर्णय गर्ने बेला भएको छ । यस्ता निर्णयको परिणा राम्रो वा नराम्रो जे पनि हुनसक्छ । तर अहिले गरिने निर्णयको परिणाम अप्रिय भए पनि सारतः राम्रो नै हुनेछ । दुबैथरीले मुक्ति पाएको अनुभुति गर्नेछन् । त्यो निर्णय निश्केर भाग्न खोजेका ओली गुटले गरेपनि हुन्छ, पार्टीको निर्णयले गरेपनि हुन्छ । तर पार्टीलाई ओली गुटको जकडबाट उन्मुक्ति दिन जरुरी भैसकेको छ । अहिले ओलीले फेरि पार्टीफोड अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका हुन् भने त्यो राहतका लागि उनी धन्यवादका पात्र हुनेछन् ।
Add Comment