समाचार हेडलाईन न्युज

दुबै पद छाडेर निकास दिन ओलीमाथि नेतृत्वको दबाब

सुनकोशी न्युज, २०७७ असार १६ गते मंगलबार

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न पार्टीभित्र दबाब परेको छ । बालुवाटारमा जारी स्थायी समिति बैठकमा बोल्नेक्रममा नेताहरुले अब प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई निकास निदुपर्ने बताएका हुन् ।

प्रम ओलीले आइतबार भारत र नेपालका नेताहरू मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका थिए । यही विषयलाई लिएर नेकपाकै नेताहरूले ओलीमाथि प्रश्न गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

एक नेता भन्छन्, ‘पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरूले आग्रह गर्नुभएको छ ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए । तर प्रचण्ड र ओलीले के–के भनेका थिए भन्ने उनले खुलाएनन् ।

प्रकाशित मिति: मङ्लबार, असार १६, २०७७