समाचार हेडलाईन न्युज

राष्ट्रपति भण्डारीबाट संविधान संशोधन विधेयक प्रमाणीकरण

सुनकोशी न्युज, २०७७ असार ४ गते विहिबार,

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७’ लाई प्रमाणीकरण गरेकी छन् ।

विहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् ।

योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । विहीबार मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो । त्यसपछि राष्ट्रिय सभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभामा जानकारी गराएको थियो ।

प्रतिनिधिसभाले राष्ट्रियसभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभामुख अग्नि सापकोटाबाट प्रमाणित गराएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

प्रकाशित मिति: बिहिबार, असार ४, २०७७