जीवनशैली समाचार हेडलाईन न्युज

हरिवोल गजुरेललाई कुनै स्पष्टिकरण सोधिएको छैन : प्रमुख सचेतक गुरुङ

सुनकोशी न्युज, २०७७ असार ३ गते मुधबार,
काठमाण्डौं । सिन्धुली–२ बाट निर्वाचित संघीय सांसद हरिवोल गजुरेललाई स्पष्टिकरणका लागि कुनै चिठी नकाटिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले स्पष्ट पारेका छन् ।

आज नेकपानिकट पत्रकारहरुको संगठनका सह–संयोजक गणेश बहादुर बस्नेतले संचालन गरेको जनता टाइम्स् नामक अनलाइनले गजुरेलबिरुद्ध भ्रमपूर्ण समाचार छापेपछि प्रमुख सचेतक गूङले सुनकोशी न्युजसँग कुरा गर्दै गजुरेललाई कुनै कारबाही नगरिएको र कुनै स्पष्टिकरणको चिठी पनि नकाटिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हेटौडामा मुख्यमन्त्रीसँगको मिटिङमा गएका बेला लडेर घाइते हुनुभएका सांसद गजुरेलले ३१ गते विहानै मलाई फोन गरेर आफ्नो अवस्थाको बारेमा जानकारी गराएपछि मैले नै उहाँलाई घरमै आराम गर्न सल्लाह दिएको हुँ । उहाँले अगाडि भन्नुभयो, ‘महत्वपूर्ण विषयमा संसदमा मतदान गर्नुपर्ने भएर पार्टिले ह्वीप जारी गरेको भएता पनि संसदमा अत्याधिक बहुमत मिल्ने निश्चित भएकाले उहाँको अनुपस्थितिले धेरै ठूलो असर पर्ने थिएन । त्यसैले उहाँको स्वास्थ्यलाई ख्याल गर्दै घरमै आराम गर्न सुझाव दिएको हुँ । उहाँ जत्तिको प्रतिवद्ध नेतृत्वप्रति यसरी मिडियामा कसैको इसारामा औला उठाउनु अपराध हो ।’

ेनेता गजुरेलले आफूलाई दलको कार्यालयबाट कुनै पनि स्पष्टिकरणको चिठी नआएको बताए । आफुले दलका प्रमुख सचेतकलाई आफ्नो अवस्थाको बारेमा जानकारी गराएर बेडरेष्टमा बसेकाले पार्टीले स्पष्टिकरण सोध्नुपर्ने कुनै कारण नभएको बताए । यसरी चरित्रहत्या गर्ने हेतुले प्रायोजित झुटो समाचार प्रकाशन गर्ने पत्रकारको नियत नै खराब रहेको गजुरेलको तर्क छ । ‘खराब मानिसहरुले कलमको दुरुपयोग गरेर पत्रकारिताको आवरण समाजलाई भ्रमित बनाउने गरेका छन् ।’ उनले आक्रोस व्यक्त गरे ।

यसरी आफूलाई जानकारी गराएर उपस्थित नभएका सांसदलाई कुनै पनि स्पस्टिकरण सोध्ने नियम नभएकोले आफूले कुनै स्पष्टिकरण नसोधेको उनले बताए । केही मिडियाले बिना आधार यसरी कपोलकल्पित समाचार छापेको सुनेर अचम्मित भएको बताएका छन् ।

‘दलले ह्वीप जारी गरेर अनिवार्य उपस्थित हुन भनेकाले बिना जानकारी अनुपस्थित अन्य तीनजना सांसदलाई भने प्रमुख सचेतकले स्पष्टिकरणको चिठी काटेको स्पष्ट पारे । त्यसरी स्पष्टिकरण सोधिएकामा शिवकुमार मण्डल, धनबहादुर बुढा र गोपाल बहादुर बम रहेका छन् ।

केही सममयपहिला प्रम ओलीले पार्टी फुटाउने नियतका साथ ल्याएको पार्टीविभाजन सम्वन्धि अध्यादेशका बारेमा गजुरेलले दिएको अभिव्यक्तिका कारण ओलीनिकट पत्रकार र तिनले संचालन गरेका मिडिया गजुरेल र पूर्वमाओवादीका नेताहरुलाई प्रायोजित मिडियाबाजीमार्फत क्रमशः चरित्रहत्या गर्ने र सिध्याउने ग्राण्ड डिजाइनमा रहेको केही सांसदहरुले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

गत जेष्ठ ३१ गते संविधान संसोधनका लागि संसदमा भएको मतदानमा दुर्घटनामा परी घाइते भएका कारण उपस्थित हुन नसकेका सांसद गजुरेलका विषयमा स्वास्थ्यमन्त्रीका प्रेस हेर्ने भनिएका प्रमोद तिवारीले संचालन गरेको दैनिकी नामक अनलाईले झुटो समाचार छापेपछि सर्वसाधरणमा भ्रम सिर्जना भएको थियो ।

जेष्ठ २८ गते बेलुका बागमति प्रदेशका मुख्यमन्त्री डोमणी पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालसँग सिन्धुलीमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने बारे गहन छलफल गर्न गएका बेला ट्वाइलेटमा लडेर घाइते भएका गजुरेल ३१ गतेको संसदमा उपस्थित हुन सकेका थिएनन् ।

सोही विषयलाई लिएर केही उश्रृंखल तत्वहरुले सामाजिक संजालमा र स्वास्थ्य मन्त्रीका प्रेस हेर्नेले आफ्नो गुटको अनलाईनमा प्रायोजित समाचार छापेपछि अन्यौलता बढेको थियो । पछि गजुरेलको सचिवालयले जारी गरेको विज्ञप्तीका कारण पाठकमा परेको भ्रम निवारण भएको थियो ।

लगत्तै नागरिक खबर, संसार खबर, परिवर्तन खबर, बागमति खबर, झिल्को डटकम लगायत दर्जनों प्रतिष्ठित अनलाईनले गजुरेललाई उनको निवासमै पुगेर भिडियो अन्तर्वार्ता र समाचार प्रसारण गरेपछि गजुरेलको बिरुद्ध मिडिया प्रोपोगाण्डा चलाउनेहरुको पर्दाफास भएको थियो ।

प्रमुख सचेतक गुरुङ, सिन्धुली–१ का संघीय सांसद, नेता सुरेश आलेमगर लगायत नेकपाका दर्जनौं नेताहरुले गजुरेललाई निवासमै भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७