समाचार

सुनकोशी मरिन डाइभर्सनबाट ५३२ घरधुरी प्रभावित हुने, तामाकोशीमा हात्तीटार र सुनकोशीमा घुमाउने चैनपुरसम्म डुब्ने

सिन्धुलीमाढी । सरकारले राष्ट्रिय गौरवको आयोजनाका विकास गर्न लागेको सुनकोशी मरिन डाईभर्सनका प्रभावित स्थानीयले सामाजिक, सांस्कृतिक, आर्थिक र वातावरणीय हिसावले क्षतिपूर्तिको माग गरेका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाद्वारा कमलामाई नगरपालिका २ कुसुमटारमा शनिबार आयोजित वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन सार्वजनिक सुनुवाईका क्रममा प्रभावितहरुले क्षतिपूर्ति मात्र नभई दीगो जिविकोपार्जनको व्यवस्थासहित आयोजनालाई अगाडि बढाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा सुनकोशी र तामाकोशी डुबान क्षेत्रका साथै मरिनका नागरिक, रामेछाप तथा सिन्धुलीका विभिन्न पार्टीका नेता, जनप्रतिनिधिलगायको उपस्थिति रहेको थियो । सुनुवाईमा कुसुमटारका हर्क राजभण्डारी, रामेछाप मन्थली नगरपालिका ६ सेलेघाटका धनबहादुर मानन्धरलगायतले पीडित र प्रभावितलाई उचित क्षतिपूर्ति, रोजगारी, दीर्घकालीन जीविकोपार्जनको व्यवस्थापनजस्ता विषयमा आयोजनाले गम्भीर ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा धनबहादुर माझीले सुनकोशी र तामाकोशी डुबानबाट सयौं माझी जाति विस्थापित हुने भएकाले उनीहरुको पेशा, व्यवसाय पनि संकटमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सयौं वर्षदेखि बसोबास गर्दैआएको माझी जातिको थातथलो संकटमा पर्दैछ । उनीहरुको संस्कृति र सामाजिक चालचलन खत्तम हुँदैछ । यस्तो विषयलाई क्षतिपूर्तिको हिसावले मात्र हेरियो भने गलत हुनेछ ।”

कार्यक्रममा आयोजना प्रमुख शुशिल आचार्यले आयोजना प्रभावितहरुले उठाएका सबै कुराहरुलाई प्रतिवेदनमा समावेश गरिने विश्वास दिलाउनुभयो । सुनकोशी र तामाकोशीको दोभानभन्दा तीन सय मिटर तलतिर सुनकोशी गाउँपालिका ६ मा १२ मिटरको बाँध उठाइने आयोजनाले जनाएको छ । सो पानीलाई १३ दशमलव १ किलोमिटर सुरुङबाट कमलामाई नगरपालिकाको कुसुमटारमा खसालिने छ । सुनकोशी नदीको ६७ क्युविक मिटर प्रति सेकेन्ड पानी मरिन खसालिने जनाइएको छ । सो आयोजनाबाट २८.६२ मेगावाट विद्युत निकालिने र तराईका वारा, महोत्तरी, सर्लाही रौतहट, धनुषा जिल्लाको एक लाख २२ हजार हेक्टर कृषि योग्य जमिनको सिंचाई गरिने आयोजनाले जनाएको छ । सो बाँधबाट रामेछाप र सिन्धुलीको ३१२ हेक्टर जमिन डुबानमा पर्नेछ । बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजनासमेत रहेको छ । आयोजना प्रमुख आचार्यका अनुसार, डुबान क्षेत्रमा ९० प्रतिशत माझी जाति प्रभावित हुनेछन् । बाँधबाट बीपी राजमार्गको ४२५ मिटर, खुर्कोट मन्थली सडकको एक किलोमिटर डुवानमा पर्ने छ । आयोजनाबाट ५३२ घरधुरी प्रभावित हुनेछन् ।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६