समाचार हेडलाईन न्युज

सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा रुकुम घटना संसदीय छानविन समिति गठन, प्रतिवेदन बुझाउन ३० दिनको समयसिमा

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २७ गते मंगलबार,
काठमाण्डौं । नेकपा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन भएको छ । आफू कुनै पनि पक्षको दबाबमा नपरी तथ्यको आधारमा निश्पक्ष छानविन गर्ने संयोजक पौडेलले जानकारी दिए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती गाउँमा भएको घटनाबारे छानबिन गर्न सांसद पौडेलको नेतृत्वमा संसदीय समिति गठन भएको हो । ६ जना युवाको ज्यान जाने गरी भएको घटना छानबिनका लागि संसदीय समिति गठनका लागि केही सांसदले निरन्तर दबाब दिदै आएका थिए ।

समितिमा नौजना सदस्य रहेका छन् । जसमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशंखे, प्रकाश रसाइली, विमला विक, महेश्वर गहतराज, मिनबहादुर विक र रामसहायप्रसाद यादव छन् । समितिलाई तीस दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ ।

जाजरकोटका नवराज विक आफ्ना १९ साथीसहित प्रेमिका भनिएकी मल्ल थरकी युवतीलाई भगाई लैजान भनेर लकडाउन उल्लंघन गर्दै रुकुमको सोती आएका थिए । बाहिरबाट आफ्नो टोलमा आएर दादागिरी गरेको भन्दै गाउँले उठेर उनीहरुलाई लखेटेका थिए । घटनापछि नवराजसहित ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।

गाउँलेले लखेट्दै जाँदा उक्त समूह आफैं नदीमा हामफालेको सोतीबासी दाबी गर्दै आएका छन् । अर्कोतिर, पीडित परिवार, दलित सांसद र अधिकारीकर्मी भने युवाअरुको हत्या गरेर शव खोलामा फालिएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७७

 

 

ताजा अपडेट