प्रदेश २ शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

बिरगंज मेडिकल कलेजका मृतकको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना पुष्टि

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते सोमबार,
काठमाण्डौं । बिरगंज मेडिकल कलेजमा कोरोनाबाट मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेजमा ती वृद्धको मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएका उनको आइसियुमा उपचारकै क्रममा ३ गते स्वाव संकलन गरिएको थियो ।

स्वाब नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद देखिएको थियो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

यस्तै मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको देवकोटाको भनाइ छ ।
यसैबीच वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सी कक्ष सिल गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँ कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १२, २०७७