शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कालिमाटीका कोरोना पोजेटिभ प्रहरीको निवासस्थल नयाँबानेश्वरका तीन घर सिल

सुनकोशी न्युज, नयाँबानेश्वर

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते आइतबार,
काठमाण्डौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका(१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ ।

ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपर्ने उनले बताए । सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तिमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ११, २०७७