समाचार हेडलाईन न्युज

काठमाण्डौमा बिजुलीका तार भूमिगत गर्ने र सडक सुधार कार्यमा तिब्रता (फोटाहरु)

sunkoshinews.com

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ९ गते शुक्रबार,
काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौंमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने र सडक मर्मत गर्ने काम निरन्तर जारी राखेको छ ।

लकडाउनपछि धेरै भारतीय कामदार घर फर्किएपछि केही दिनसम्म काम रोकिएको थियो । निर्माणका काम निरन्तर जारी राख्ने सरकारको निर्णयपछि उपलब्ध प्राविधिक र कामदारलाई परिचालन गरेर सडक विभाग र नेपाल विद्युत् प्राधिकरणले काम जारी राखेका छन् ।
अहिले चाबहिल र बुढानीलकण्ठ क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहेको छ ।

प्राधिकरणले अलिहेसम्म दुई किलोमिटर सडक क्षेत्रमा भूमिगत विजुलीका तार बिछ्याउने काम गरिसकेको छ । यसमा तारको लम्बाइका हिसाबले करिब २० किलोमिटर बराबर हो । आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार तीव्र गतिमा काम गर्न नसकिए पनि रोकिएको छैन ।

‘कामदारको अभाव छ, भारतबाट प्राविधि जनशक्ति ल्याउनुपर्ने छ। अहिले दुवैै देशमा लकडाउन भएकाले त्यो सम्भव भएको छैन,’ सिलवालले भने, ’यहाँ जे जति स्रोत साधन उपलब्ध छ, त्यसबाट काम गरिररहेका छौं।’

अहिले चाबहिल क्षेत्रमा तार बिछ्याउने काम धमाधम भइरहेको छ। चाबहिल गौशाला खण्ड खानेपानीको नयाँ पाइप राखेर कालोपत्रे गर्ने तयारी हुँदैछ। त्यसअघि नै तार बिछ्याइसक्ने योजना प्राधिकरणको छ ।

यसैगरी उपत्यका रिङरोडका अधिकांश सडक मर्मत र पिच गरिएको छ । सडकहरु अहिले सबै कालोपत्रे गरिएका, लाइनिङ गरिएका सफा देखिन्छन् । सडकमा सवारी चाप नभएकाले पित गर्न, लाइनिङ गर्न र मर्मत गर्न सजिलो भएको सडक विभागका महानिदैशक केशव शर्माले बताए ।

 

sunkoshinews.com

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७७