समाचार

सर्वोच्चबाट धरौटीमा छुटे अभियुक्त

काठमाडौं, १७ साउन

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा जिल्ला र उच्च अदालतले थुनामा पठाउन आदेश दिएका महाविर प्रसाद गोल्यानलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले अभियुक्त मध्येका महाविरप्रसाद गोल्यानलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गोल्यानलाई १० लाख धरौटी लिएर साधारण तारेखमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको हो । अभियोग लागेका अन्य अभियुक्तलाई भने थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सवोच्च अदालत आइपुगेको यो मुद्दामा दुइ साता लामो बहसपछि आज आदेश भएको हो ।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि अभियुक्तहरु उच्च अदालत विराटनगर पुगेका थिए । तर, उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु त्यसविरुद्ध १७ नम्बर निवेदन लिएर सर्वोच्चमा आएका हुन् ।

अभियुक्तमध्येका डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोललगायतकाे हकमा भने उच्च अदालतकै आदेश अनुसार मुद्दाकाे प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

यस प्रकरणमा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छोड्ने उच्च अदालत विराटनगरकाे फैसला सर्वाेच्चले सदर गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६