मुख्य समाचार हेडलाईन न्युज

सर्वदलीय वैठक सम्पन्न, नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने निश्कर्ष

सुनकोशी न्युज, २०७७ वैशाख ३१ गते

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार भारतीय अतिक्रमणको विषयमा छलफलका लागि संसदमा सहभागी सबै दलका नेता र पूर्वप्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा बोलाएका थिए।

नेपाली भूमि लिपुलेकमा भारतले एकपक्षीय रुपमा बाटो बनाएपछि नेपालमा त्यसको तिब्र बिरोध भएको छ । बुधबारको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले लिपुलेक, कालापानी लगायत सिमा विवादको समस्याबारे भारत र चीन दुबै देशसँग गम्भीरतापूर्वक कुरा गर्नुपर्ने बताएका छन् । देउवाले यसअघि पनि लुपुलेकबारे भारत र चीनबीच सहमति हुँदा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले ‘प्रोटेस्ट नोट’ पठाएको स्मरण गरेका छन्।

कांग्रेस सभापति देउवाले नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने धारणा राखेका छन्। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन्।

‘सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो। अतः महाकाली नदी पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन्’, बैठकमा देउवाले भने, ‘यस बारे नेपाली कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउंदै आएको छ। यो नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा यस बैठकमा पुनः दोहोर्‍याउन चाहन्छु।’

‘सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको थियो’, देउवाले भने, ‘तर भारत र चीन दुई राष्ट्र बीचको त्यहि सहमतिको परिणाममा आज लिपुलेक सडक निर्माण सम्पन्न भएकोछ। अतः नेपाल सरकारले दुवै राष्ट्रसँग यस बारे संवाद गर्नु पर्छ र प्रष्ट भन्नु पर्छ— लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो। यस माथिको अतिक्रमण हामीलाई ठाडै अस्वीकार्य छ।’

देउवाले सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको स्मरण गरे।

‘भारतीय सेना रहेको कालापानी लगायतका भूमि नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ’, देउवाले थप भने।

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७७