अन्तर्वार्ता/विचार हेडलाईन न्युज

नेकपा स्थायी समिति बैठकमा छलफलको मोडालिटि कस्तो हुनुपर्छ ?

हरिवोल गजुरेल,

सुनकोशी न्युज, २०७७ वैशाख १७ गते,
यतिखेर नेपाली समाज गंभीर संकटबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता बढेसँगैै कोरोनाको संकटले लकडाउन पनि थपिदै गएको छ । मुख्यतः राजनीतक अस्थिरताको छिटोभन्दा छिटो अन्त्य गरेर कोरोनाबिरुद्धको लडाईमा एकजुट भइ यसमाथि विजय हासिल गर्न आवश्यक छ । यतिखेरको राजनीतिक पार्टीहरु, संसद र सरकार नयाँ संविधानले दिशानिर्देश गरेअनुसार चल्नुपर्नेमा सत्तापक्ष होस् वा प्रतिपक्ष, पुरानै तरिकाले चलिरहेका छन् । जनअपेक्षा अनुसार परिणाम आउन सकेको छैन । जसका कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ । यसो हुनुका पछाडि मुख्यत दुई कारण छन् । पहिलो, जनताको चेतना भन्दा राजनीतिक दलहरुको चेतना पछाडि हुनु । दोश्रो, २००६ सालमा स्थापना भएको नेकपा क्रमभंग गरेर नयाँ पार्टी बने पनि संचालनको तरिका पुरानै हुनु ।

यतिखेर नेकपाभित्र भुसको आगोको रुपमा रहेको अन्तरविरोध दुई अध्यादेश आएपछि दावानल बनेर एकीकृत पार्टीको भविष्यमाथि नै चुनौति खडा गरिरहेको छ । जुन अध्यादेशको खारेजीपछि पनि कायमै छ । कोरोनाबिरुद्ध लड्नुपर्ने समयको चापको बीचमा पनि विवादको समाधानका उपायहरुको खोजी गर्नै पर्छ । कोरोना महामारीको बेला छलफल किन गर्ने भन्न पनि सकिन्छ । तर सरकारको नेतृत्व गरेको पार्टीभित्र उत्कर्षमा पुगेको अन्तरविरोधलाई मत्थर र समाधान गर्न सकिएन भने कोरोनाबिरुद्धको संघर्षमा विजय हासिल गर्न निकै गारो पर्नेछ । यसर्थ, समाधानका उपायहरुबारे पार्टीका विभिन्न वृत्तमा छलफल चलिरहेको छ । यसलाई नकारात्मक रुपमा लिन मिल्दैन । यो बहसले समस्यााको समाधान निकाल्नैपर्छ ।

अहिले पार्टीभित्र देखिएको अन्तरविरोध समाधानका लागि सचिवालय र स्थायी समितिको बैठक बस्ने कुरामा दुवै अध्यक्षबीच सहमति भएको छ । स्थायी समितिको बैठकको मोडालिटीबारे सचिवालयमा छलफल आवश्यक देखिन्छ । मेरो विचारमा बैठक संक्षिप्त हुनुपर्छ र तीन स्टेपमा छलफल चलाउनुपर्छ ।

१. सचिवालय र दुई अध्यक्षले केन्द्रीय समितिको म्यान्डेटअनुसार काम हुन नसक्नुका कारणहरु के के हुन् ? सचिवालय सदस्यहरु र दुई अध्यक्षहरुको भूमिका कहाँ पुगेन ? भन्नेबारे गहन छलफल हुनुपर्छ । स्थायी समितिका सदस्यहरूले उठाएका कुराहरुको चित्तबुझ्दो जवाफ नेतृत्वले दिनैपर्छ ।

२. नयाँ सिस्टमको गाडी आएपछि या त पुरानो डाइभरले नयाँ सिस्टम अनुसार आफूलाई अपग्रेड गर्नुपर्छ वा नयाँ सिस्टम जानेको डाइभर राख्नुपर्ने हुन्छ । तर कसैले मैले वर्षौंदेखि गाडी चलाउदै आएको हुँ, सजिलै चलाइहाल्छु नि भनेर आफूलाई अपग्रेड नगरी नयाँ सिस्टमको गाडी चलायो भने सिस्टम मात्र ध्वस्त हुने होइन, दुर्घटना पनि हुन्छ । यसर्थ, समस्याका प्रमुख र सहायक कारणहरु निक्र्यौल हुनु जरुरी छ । पार्टी नयाँ हुने, तर नीति, विधि, संगठन, कार्यशैली र आचरण पुरानै हुँदा यो समस्या आएको हो वा पार्टी र सरकारको नेतृत्व गर्ने व्यक्तिकै भूमिकाका कारणले यी समसयाहरु आएका हुन् भन्ने करामा छलफल केन्द्रित हुन जरुरी छ । नेतृत्वको भूमिका नै नपुगेको हो भने नेतृत्व बदलेर समस्या समाधान गर्न सकिन्छ । तर मलाई के लागि रहेको छ भने नेकपाको विचारको मूलभूत पक्ष ठिक छ तर त्यो विचारलार्य व्यवहारमा उतार्नको लागि नयाँ नीति, विधि, संगठन, कार्यशैली र आचरणको आवश्यकता पर्दछ । यी चिजहरु विकास गर्न नसक्दा अन्तरविरोध समाधान भइरहेको छैन । व्यक्तिको भूमिका नपुगेको कुरा सहायक कारण हो । त्यसैले दोस्रो स्टेपमा नयाँ पार्टी र यसले निर्धारण गरेको समाजवादी लक्ष्यलाई बोक्ने नयाँ नीति, विधि, संगठन, कार्यशैली र आचरणको आवश्यकता पर्दछ । अन्यथा, पार्टी अन्तरविरोधको गोलचक्करमा फसिरहन्छ ।
३. पात्रबारे छलफल हुनुपर्छ । सिंगो मुलुक र पार्टीलाई सुझबुझपूर्ण ढंगले सञ्चालन गर्न सक्ने व्यक्तिको पहिचान गर्नुपर्छ । अहिले भएका व्यक्ति वा नेतृत्वकर्ताले नयाँ नीति, विधि, संगठन, कार्यशैली र आचरण अनुसार नेतृत्व गर्न सक्ने वा नसक्ने भन्ने कुरामाथि बहस हुनुपर्छ । नयाँ नीति, विधि, संगठन, कार्यशैली र आचरणमा नयाँ मान्यता विकास नगरी व्यक्तिलाई मात्रै बदलियो भने नयाँ आउने नेतृत्वलाई पनि काम गर्न सहज हुन्न । बाँकी अढाई वर्ष पनि यिनै समस्याहरु पुनरावृत्ति भइरहन्छन् जुन पार्टीका लागि कदापि हितकर होइन । डायस अनुपयुक्त भएर पैदा भएको समस्या हो कि मेसिन चलाउने व्यक्तिमा समस्या हो, छुट्याउन सक्नुपर्छ । डायसमा त्रुटी छ भने मेसिन चलाउने मिस्त्री बदलेर समस्या समाधान हुदैन, डायस नै नयाँ निर्माण गर्नपर्छ । डायसको त्रुटी सच्याइसकेपछि मेसिन चलाउने मिस्त्रीबारे छलफल गर्नु उपयुक्त हुन्छ ।

बैठकबाट समस्या समाधान गर्छु भनेर मात्रै हुदैन, बैठकका एजेण्डा र छलफलका मोडालिटिहरु पनि वैज्ञानिक हुन जरुरी छ । हाम्रा बैठकका मोडालिटिहरु पुरानै हुँदा बैठक लामा हुने र समस्याको उपयुक्त समाधान निकाल्न नसक्ने हुने गरेका छन् । त्यसैले, आज बस्दैगरेको सचिवालयले बैठकका एजेण्डा र छलफलको मोडालिटि वैज्ञानिक बनाउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १७, २०७७