विदेश हेडलाईन न्युज

इजरायलमा सामाजिक दूरी कायम गर्दै सरकारबिरोधी प्रदर्शन

सुनकोशी न्युज, २०७७ वैशाख ८ गते,
काठमाण्डौं । इजरायलमा आइतवार हजारौं मानिसले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारको विरोध गर्दै प्रदर्शन गरेका छन् । तर कोरोना संक्रमण फैलिन नदिनका लागि सामाजिक दूरी अपनाउँदै उनीहरू एकअर्काभन्दा दुई मिटर पर उभिए । राजधानी तेल अभिभको रबिन स्क्वेयरमा सयौं मानिस सरकारको विरोध गर्न भेला भएका हुन् ।

हारेट्ज पत्रिकाले दुई हजारभन्दा बढी प्रदर्शनकारी भेला भएको अनुमान गरेको छ । उनीहरू एकअर्काबाट दुई मिटर पर रही उभिएका थिए र उनीहरू उभिएको ठाउँमा कालो क्रसले चिह्न लगाइएको थियो । यसरी दूरी राखेर मानिसहरू भेला भएको दृश्य अनौठो देखिन्थ्यो ।

इजरायलमा कालो झण्डा प्रदर्शन लामो समयदेखि चलिरहेको छ । सामाजिक दूरी पालन गर्ने शर्तमा प्रहरीले प्रदर्शन गर्न दिएको थियो । विरोध कार्यक्रम आयोजकहरूले प्रदर्शनकारीलाई मास्क दिनुपर्ने शर्त पनि थियो ।

अघिल्लो महिना देशमा सुरक्षा निकायहरूलाई दिइएको संकटकालीन अधिकारको विरोधमा यो प्रदर्शन गरिएको थियो । नयाँ अधिकार पाएपछि देशको जासूसी संस्था शिन बेटले नागरिकहरूको मोबाइल फोन डेटा ट्य्राक गर्ने अधिकार पाएको छ । क्वारेन्टीन उपाय अवलम्बन गराउनका लागि मोबाइल ट्य्राक गर्न खोजिएको हो ।

प्रकाशित मिति: सोमवार, बैशाख ८, २०७७