मुख्य समाचार विदेश

अमेरिकामा एकैदिन करीव ४६ सयको मृत्यु

 

संयुक्त राज्य अमेरिकामा एकै दिन झण्डै ४६ सय मानिसले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको कारण यस प्रकारको बढ्दो मृत्युदरसँगै अमेरिकामा बसोबास गर्नेहरू निकै त्रसित र भयभित भएका छन् ।

दि वाल स्ट्रीट जर्नलका अनुसार, विगत २४ घण्टाको अवधिमा यहॉ ४५ सय ९१ जनाको मृत्यु भएको छ । यो अहिलेसम्कै सर्वाधिक संख्या हो ।

आज एकैदिन ३२ हजार बढी नयॉ संक्रमित थपिएका छन् ।

अमेरिकामा कोभिड १९ को संक्रमणबाट झण्डै ३४ हजार जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार नाघिसकेको छ । यति हुंदा पनि कोरोना संक्रमण फैलिन नदिनका लागि युरोप र एसियाली देशहरूले अपनाए जस्तो कडा खालको सतर्कता र तदारूकता देखिएको छैन ।

अमेरिका बन्द हुनका लागि नबनेको जस्ता अभिव्यक्ति दिँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले विहीबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा सामाजिक दुरी कायम राख्दै शैक्षिक संस्था, कार्यालय लगायत आगामी दिनमा चाँडै नै खोल्न सकिने तथा अमेरिकालाई पुनः सामान्य अवस्थामा फर्काउन आफ्नो योजना पेस गरेका छन् ।

केही सरकारी कार्यालय, स्कूल, कलेज, प्राइभेट कम्पनी, व्यापारिक हब तथा आवश्यकता अनुसारका केही साना व्यापार व्यावसाय, सार्वजनिक स्थल लगायत बन्द रहे पनि यो मितिसम्म अमेरिकाका कुनैपनि राज्यहरू पूर्णरूपमा लकडाउन गरिएको छैन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले गर्दै आएको करोडौं डलर बराबरको आर्थिक सहयोग रकम रोकेपछि राष्ट्रपति ट्रम्पको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक विरोध भइरहेको छ ।

कोरोनाका कारण दुई लाख मानिस मर्न सक्ने र दशौं लाख मानिसमा भाइरसको संक्रमण फैलिन सक्ने कोरोना भाइरस रोकथाम ट्रम्प कार्यदलका एकजना उच्च तहका मेडिकल विशेषज्ञले यसअघि चेतावनी दिइसकेका छन् ।

कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएयता यस बीचमा ८ जना नेपालीहरूको मृत्यु भएको छ भने २ सय बढी नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

कोभिड १९ को इपिसेन्टर बनेको न्युयोर्कमा मात्रै करीव १५ हजार व्यक्तिको ज्यान गएको छ भने संक्रमितको संख्या २ लाख २५ हजारको हाराहारीमा पुगेको छ ।

करीव २ करोड़ जनसखंया रहेको न्युयोर्कमा नेपालीहरूको समेत बाक्लो बसोबास रहेको छ । त्यहॉ मात्रै कोरोना संक्रमित नेपालीहरू सयौंको संख्यमा हुनसक्ने स्थानीय सामाजिक संघसंस्थाहरूले जनाएका छन् ।

यता क्यालिफोर्नियामा समेत कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९७३ नाघेको छ । यहॉ संक्रमितको संख्या २८ हजार भन्दा बढी छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ५, २०७७