स्थानीय हेडलाईन न्युज

युद्धस्तरमा पैदलयात्रीको उद्धार गर्दै प्रदेश सांसद दाहाल र गाउँपालिका अध्यक्ष बोहोरा

सुनकोशी न्युज, २०७७ वैशाख ५ गते

सिन्धुली । लकडाउनको कारण विपि राजमार्ग हुदै गृहजिल्ला हिडेका अलपत्र पैदल यात्रुहरुको उद्धारमा सिन्धुलीका जनप्रतिनिधि अहोरात्र खट्ने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सिन्धुलीका अध्यक्ष तथा बाग्मती प्रदेश सांसद लेखनाथ दाहाल (राजन) र सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल लकडाउका कारण अलपत्र परेका पैदल यात्रुको उद्धारमा केही दिनयता युद्धस्तरमा खट्नुभएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले २०६६ चैत्र ११ गतेदेखि पुरै देशभरि लकडाउन घोषणा गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । अत्यावश्यक बाहेकका सबै नागरिकलाई घरबाहिर ननिस्किन सरकारले सबैलाई आव्हान गरेको छ । पहिलो चरणमा चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरिदा संसारभरि तिब्रगतिमा फैलिएको कोरोनाले हज्जारौं मानिसको ज्यान लिइरहेको थियो । तर नेपालमा लकडाउन प्रभावकारी बनेका कारण यसलाई लम्ब्याउने सरकारको निर्णयसँगै दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरलाई समस्या भयो । सरकारले यसरी अलपत्र परेका मजदुरलाई भ्यालिबाहिर उनीहरुको गृहजिल्ला लैजाने निर्णय गर्दा प्रदेश सरकारको सहमति नभएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।

लकडाउनमा घरबाट बाहिर निस्कन र काम गर्न नपाएपछि बिपन्न तथा मजदरका परिवारले भोकमरीको सामना गर्नुप¥यो । भएको अन्न रासन सकिएपछि उनीहरुलाई भ्यालिको स्थानीय सरकारले राहत दिन आनाकानी ग¥यो । यस्तो अवस्थामा कि हिडेरै घर जाने, कि भोकभोकै मर्ने दुई बिकल्प मात्रै बाँकि रहे । यस्तो परिस्थितिमा उपत्यका लगायत विभिन्न स्थानमा मजदुरी गर्ने विपन्न मजदुरहरु सपरिवार पैदलै गृहजिल्ला जान भनेर हिडे ।

पैदल जाँदा एक प्तादेखि दुई हप्तासम्म समय लाग्ने स्थानमा पुग्न पैदलै हिडेका मजदुरलाई बाटोमा खाने र सुत्नेको समस्या भयो । महिला, केटाकेटी समेत पैदलै हिडेका मजदुरले भोकभोकै यात्रा गर्नुपरेको थियो । सरकारले उनीहरुलाई सहज रुपमा सवारी साधन प्रयोग गरेर घरसम्म जाने व्यवस्था मिलाउन आनाकानी गरिहेको अवस्थामा उनीहरुको अवस्था झनै भयावह बनिरहेको छ । यसरी आफ्नो गृहजिल्ला फर्किएका मानिसको उचित व्यवस्थापन गर्न सम्वन्धित जिल्लाका राजनीतिक दल र स्थानीय सरकार पनि इच्छा देखाइरहेको छैन ।

यस्तो अवस्थामा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाले काठमाण्डौं उपत्यका लगायत स्थानबाट आउने पैदल यात्रीलाई उद्धार गर्ने कार्य गत दश दिनदेखि जारी रहाखेको छ । सिन्धुलीका प्रदेश साँसद राजन दाहाल र उहाँकी धर्मपत्नी तथा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल बिहानैदेखि विपि हाइवेमा पैदल यात्रुको उद्धारमा खटिने गर्नुभएको छ । उहाँहरुले पैदल यात्रीलाई खाना–खाजाको व्यवस्थापन गर्नेदेखि उपलब्ध भएसम्मका सबैखाले सवारीसाधन प्रयोग गरेर गन्तव्यसम्म वा अर्को जिल्लासम्म पठाउने व्यवस्थापन गरिरहनु भएको छ । दैनिक हज्जारौं यात्री विपि हाइवे हुदै पूर्वका विभिन्न जिल्ला जाने गरेका छन् ।

सिन्धुलीको बाटो हुर्दै पहाडी जिल्लाहरु , ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर , सोलुखुम्बु, रामेछाप उदयपुर जोड्ने मध्यपहाडी राजर्माग तथा पुर्वी तराईलाई राजधानी काठमाडौंसँग र काठमाडौंलाई सिन्धुली सहित पुर्वी तराईसँग छोटो दुरीमा जोड्ने १ सय ६० किलोमिटर लम्बाईको विपी राजमार्गमा लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुको दैनिक लर्को नै लाग्ने गरेको छ । दैनिक सयौंको संख्यामा पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुको कुरा सुन्दा मन भक्कानिन्छ । दाहाल दम्पत्तिको सहयोगले उनीहरुमा राहत प्रदान गरेको छ । सुनकोशी पुगेपछि राहतको सासफेर्ने गरेको यो मार्गबाट जाने पैदल यात्रीले बताउने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ५, २०७७