विज्ञान

नेदरल्याण्डबाट आयात गरिएको पम्प निरीक्षण गर्दै खानेपानी मन्त्री

साउन १६, २०७६

ललितपुर खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छिन् ।

ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन मन्त्री मगरले बिहीबार गरिन् । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रा.लि.ले पम्पको माध्यमबाट विना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको हो ।

 

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिए । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिंचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए । कम्पनीले वर्षा र पापा पम्प नामाकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ ।

‘यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिंदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो,’ महर्जनले भने, ‘विशेष गरी पहाडी एरियामा तल खोलाबाट पानी तानेर माथि गाउँबस्तीमा पु-याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ । वर्षा पम्पले विना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र २ किलोमिटर दूरीमा फाल्ने काम गर्छ ।’

पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटर देखि १ सय ५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए ।

यस पम्पबाट पानी तानेर सिंचाई र माछा पालन गर्न सकिने उनको भनाई छ । महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे ।

अवलोकन पछि खानेपानी मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताइन् । यस किसिमको नयाँ नयाँ प्रविधिको प्रबद्र्धनमा सरकारले सहयोग गर्ने उनले बताइन् ।

निरीक्षणमा खानेपानी मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए

प्रकाशित मिति: बिहिबार, साउन १६, २०७६