हेडलाईन न्युज

१४ दिन घरमै क्वारेन्टाइनमा बस्ने सर्तमा गौरीफन्टा नाकाबाट ९१४ जना नेपाल प्रवेश

सुनकोशी न्युज,
२०७६ चैत १२ गते
धनगढी । भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई करिब २८ घण्टापछि कैलाली प्रवेश गर्न दिइएको छ ।

नेपालमा गरिएको लकडाउनका कारण सोमबारदेखि नै सीमामा रोकिएका १९ जिल्लाका ९ सय १४ जनालाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो । घण्टौंसम्म नाकामा अलपत्र परेकाहरुले नेपाल प्रवेश गर्न दिनुपर्ने माग गर्दै प्रदर्शनसमेत गरेका थिए ।

संघीय सरकारको निर्देशनपछि घरमै क्वारेन्टाइनमा बस्ने सर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ ।
त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका उनीहरुलाई प्रदेश सरकारको समन्वयमा बसमा राखेर घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई उनीहरुकै जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यवस्थासहित घर जान दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । क्वारेन्टाइन स्थापनाका लागि स्थानीय तहहरुलाई प्रदेश सरकारले बजेटको व्यवस्थासमेत गरिदिएको छ ।

कोरोना संक्रमण फैलिँदै गएको भारतबाट नेपालीहरु बिभिन्न नाका हुँदै धमाधम नेपाल भित्रिइरहेका छन् । यसले नेपालमा पनि कोरोनाको संक्रमण फैलिने जोखिम बढेको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र १२, २०७६