अर्थ/विजनेस हेडलाईन न्युज

आयल निगमले १८ बिक्रीकेन्द्रबाट विभिन्न ग्यासहरु सिधै उपभोक्तालाई उपलब्ध गराउने

सुनकोशी न्युज,
२०७६ चैत्र ९ गते
काठमाण्डौं । उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि नेपाल आयल निगमले विभिन्न स्थानमा विक्रि केन्द्र स्थापना गरेर उपभोक्तालाई सिधै ग्यास विक्री गर्ने सेवा प्रदान गरेको छ ।

यो सुविधा राजधानीका विभिन्न १८ ठाउँमा उपलब्ध छ । एक उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको छ । निगमले प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ मूल्य तोकेको छ।

कोरोना भाइरसको त्रासका बीच बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएका बेला नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघसँगको सहकार्यमा राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालनमा ल्याएको छ ।

२२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म १८ छुट्टाछुट्टै आउटलेटबाट ग्यास वितरण गर्दैछन् ।
कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चिति गरेका कारण अभाव देखिएको सरकारी दाबी छ । जसको प्रत्यक्ष मार एक वा दुई मात्र सिलिन्डर हुने निम्न वर्ग र निम्नमध्यम वर्गमा परेको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र ९, २०७६