बागमती हेडलाईन न्युज

कोभिड — १९ (कोरोना भाइरस) नियन्त्रण गर्न वडाले गरेका कामको अनुगमन

काठमाडौं । कोरोना भाइरस (कोभिड — १९) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि महानगरको ‘अनुगमन तथा सुपरीवेक्षण समिति’ले आजबाट आन्तरिक अनुगमन थालेको छ । गएको चैत ६ गते बसेको काठमाडौं महानगरको कार्यपालिकाको बिशेष बैठकले संक्रमण रोक्न गरेको निर्णयअनुसार वडाबाट भएका कामको प्रभावकारिता बढाउन अनुगमन गरिएको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिनुभयो ।

वडाले सावधानी पूर्वक काम गरेको देखियो । महानगरबाट पठाइएका मास्क बितरण भइरहेका छन् भने वडा आफैंले पनि मास्क र स्यानिटाइजर खरिद गरेका छन् । उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो — अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन वडाबासीलाई प्रोत्साहन गर्न माइकिङ् गर्ने, ठाउँ—ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था गर्न वडालाई भनेका छौं, खड्गी श्रेष्ठले थप्दै भन्नुभयो — भोलिबाट दैनिक उपभोग्य बस्तु र औषधिजन्य बस्तुको उपलब्धता, मुल्य पनि हेर्छौं ।

आज हामीले वडा १८, १९, २०, २२, २३, २४, २५ र २७ गरी ८ वटा वडाको अनुगमन ग¥यौं । समितिका सदस्य सचिव एवं सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापाले भन्नुभयो — कार्यपालिकाको बैठकको निर्णय अनुसार वडाहरु सक्रिय भएको पायौं । कति वडाले आफैं पनि थप व्यवस्था गरेका छन् । जेष्ठ नागरिकलाई सचेत रहन आग्रह गर्दै जनप्रतिनिधि घरघरमै गएको पनि पायौं । सरसफाइलगायतका काममा स्थानीय क्लवसँगको साझेदारिता पनि देखियो, थापाले थप जानकारी दिँदै भन्नुभयो — केही वडाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वय बढाउनु पर्ने पनि देखिएको छ । यो बिषयलाई हामीले सुझाव दिएका छौं र बिभागलाई समन्वय गर्न आग्रह पनि गरेका छौं ।

यसरी अनुगमन गर्दा देखिने भीडलाई व्यवस्थापन गर्न आपसी दुरी कायम गरिएको समितिकी सदस्य एवं कार्यपालिका सदस्य हीरादेवी पोखरेलले जानकारी दिनुभयो । त्यस क्रममा कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी, नगर प्रहरीसहित करीब १० जनाको टोली खटिएको थियो ।-चन्द्रमणी भट्टराइ

प्रकाशित मिति: सोमवार, चैत्र १०, २०७६