समाचार हेडलाईन न्युज

भारतीय सिमानाका तुरुन्तै बन्द गर्न जरुरी, उपत्यकाबाट बाहिरिन किन उत्साहित गरेको ?

सुनकोशी न्युज,
२०७६ चैत्र ९ गते
काठमाण्डौं । कोरोना भाइरसबाट बाच्न भारत लगायत विदेशबाट नेपाल फर्किने लावालस्करले भूकम्पको त्रासदीलाई सम्झाइदिएको छ । उपत्यका, पोखरा लगायत शहरी क्षेत्रबाट गाउँ फर्किनेहरुले गाडी पाइरहेका छैनन् । दैनिक हज्जारौं मानिस उपत्यका छाडेर गाउँ फर्किरहेका छन् । के यसरी जथाभावी विदेशबाट नेपाल आउनु र उपत्यका छाडेर गाउँ जाँदैमा कोरोना भाइरसको प्रकोपबाट बच्न सकिएला ? सोच्न जरुरी भएको छ ।

गाउँमा सबै स्थानमा आइसोलेशन सेवा सहितको अस्पताल उपलब्ध छैन । सहरमा धरै भिडभाड हुने स्थानमा नजादा हुन्छ । घर वा कोठामा बसिदिए हुन्छ । तर गाउँमा यदि कोरोना लागिहालेको खण्डमा त्यसको उपचारको लागि उपचार सहरमा भन्दा पक्कै पनि कम नै उपलब्ध हुन्छ । त्यसैले मर्नुभन्दा अघि खुट्टा तन्काउनु भनेझैं लावालस्कर लगाएर गाउँ जान बसपार्कमा अनावश्य भिडभाड गर्नु पनि मूर्खतापूर्ण कार्य नै हो ।

कमसेकम एक महिना हामी जहाँ छौं, त्यहीँ सुरक्षित बस्ने हिम्मत गरौं। नेपाल छिर्ने र शहर छाड्ने लावालस्करले हामी कसैलाई सुरक्षित राख्दैन । भारतीय सिमानाकामा भएको डरलाग्दो भिडभाड नियन्त्रण गरेर नेपाल आउने सबैलाई अनिवार्य १५ दिन आइसोलेशनमा राखौं। खासगरी सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यान जावोस्। प्रदेश सरकारहरुले यो अनिवार्य बनाएर लागू गरून्, आजै, अहिले नै।

नत्र विदेशबाट आउने र उनीहरूका परिवारलाई मात्रै होईन, त्यो समाज र देशकै लागि काल बन्न सक्छ । संक्रमितको भाईरस परिवारलाई अनिवार्य सर्नेछ। र, वरपरका, टोल,गाउँ, छिमेकी सबैलाई सर्छ। यसमा माया(ममताको कुनै गुञ्जायस रहदैन । रोग लागेपछि पछुताउनुको कुनै तुक छैन । त्यसैले सुरक्षित रहौं, सचेत बनौं । बाँचौं र सबैलाई बाच्न दिऊँ ।

प्रकाशित मिति: आइतवार, चैत्र ९, २०७६

 

 

ताजा अपडेट