समाचार हेडलाईन न्युज

स्थानीय कर्मचारीको जोखिम आँकलन गर्न कर्मचारी युनियनको माग

काठमाडौं । स्थानीय तह कर्मचारी युनियन नेपालले एक प्रेस बिज्ञप्ति जारी गर्दै स्थानीय तहका काम गर्ने कर्मचारीहरुलाई निर्धक्क सेवामा जाने वातावरण तयार गर्न तीनै तहका सरकारसँग माग गरेको छ । कोभिड — १९ (कोरोना) को त्रास सबैतिर भएका बेला यसबाट कर्मचारीमा पनि प्रभाव पर्ने जनाउँदै बिज्ञप्तिमा स्थानीय तहका कर्मचारीले जनसाधारणसँग प्रत्यक्ष सम्पर्कमा बसेर सेवा गर्नु पर्ने भएकोले उनीहरुमा खतरा बढेको बताइएको छ । संघका महासचिव रामप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको बिज्ञप्तिमा भनिएको छ — नेपाल सरकारले संक्रमणलाई न्युनीकरण गर्न नीतिगत र कार्यगत व्यवस्थाबाट सर्वसाधारण व्यक्ति तथा निकायलाई भेला, सभा सम्मेलन नगर्न, भीडभाडमा नजान सचेत गराइसकेको अवस्थामा कर्मचारीको सुरक्षालाई वेवास्ता गर्न मिल्दैन ।
बिषयको गम्भीरतालाई समयमै आँकलन गर्न सकिएन भने सामाजिक, आर्थिक तथा अन्य सबै क्षेत्रमा अकल्पनीय क्षति हुने अवस्था आउने र त्यो अवस्था व्यवस्थापन गर्न स्थानीय तहका कर्मचारी मानसिक एवं शारीरिक रुपमा तयार हुनुपर्ने बिषयलाई बिज्ञप्तिमा महत्वकासाथ उठाइएको छ ।
नागरिकका दैनिक काम स्थानीय सरकारका ५ हजार बढी वडा कार्यालयबाट प्रवाह भइरहेको छ । स्थानीय तह नै जनताको नजिकको सरकार हो । सेवाप्रवाहलाई बर्गीकरण गर्दा फोहोरमैला व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, शैक्षिक गतिबिधि, सूचना तथा सञ्चार, आपतकालीन खोज तथा उद्धार जस्ता समुदायसँग मिलेर प्रवाह गर्नु पर्ने काम स्थानीय तहकै कर्मचारीले गर्नुपर्ने भएकोले आफूहरु अति जोखिममा रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । यसकारण कर्मचारीलाई सुरक्षा पोशाक तथा उपकरण, सुरक्षित काम गर्ने पूर्वाधार, जोखिमपूर्ण अवस्थामा निर्धक्क काम गर्ने मनोबल उपलब्ध गराउनुपर्छ, बिज्ञप्तिमार्फत माग गरिएको छ ।
सरकारले खटाएको ठाउँ र समयमा काम गर्ने कर्मचारीहरुको स्वास्थ्यजन्य जोखिम व्यवस्थापनको जिम्मा संघ, प्रदेश र स्थानीय सरकारले ग्यारेन्टी गर्नुपर्छ । यो मागलाई बिज्ञप्तिमा जोड दिएर उठाइएको छ । यसका लागि आधारभूत स्वास्थ्य सुरक्षाका उपकरण, सुरक्षाका अन्य प्रबन्ध र पूर्वाधारको तत्काल उपलब्ध गराइयोस्, बिज्ञप्तिमा उल्लेख छ ।

युनियनले बिज्ञप्ति मार्फत संघ, प्रदेश र स्थानीय सरकारसँग राखेका ७ बुँदै माग यस्ता छन् : 
१. स्थानीय तहमा फोहोर मैला व्यवस्थापनमा काम गर्ने (निजी क्षेत्रमा समेत) कर्मचारी/कामदारहरुलाई भाइरस निरोधात्मक पोशाक (एप्रोन, नसर्ने माक्स, ग्लोब, बुट) लगायतका सामग्रीहरुको तत्काल व्यवस्था गर्ने ।

२. स्वास्थ्य एवं आपतकालीन सेवामा काम गर्ने कामदार÷कर्मचारीहरुलाई समेत सोही अनुसारको व्यवस्था गर्ने ।

३. कार्यालयमा काम गर्ने कर्मचारी कामदारहरुलाई भाइरस निरोधात्मक सामग्रीको व्यवस्थापन गर्ने ।

४. नेपालभरका ७५३ वटै स्थानीय तह एवं सवै वडा कार्यालयहरुमा सेवाग्राही सेवा लिन आउँदा आवश्यकताअनुसारको भाइरस निरोधात्मक स्वास्थ्य सामग्रीको व्यवस्था एवं वडा वडामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने ।

५. जनता (सेवाग्राही)लाई स्वास्थ्य चेतना सम्बन्धी कार्यक्रमहरु घर घरमा नै पु¥याउने व्यवस्था मिलाउने ।

६. प्रत्येक वडामा सक्रमित हुनेहरुलाई अवधि समाप्त नहुन्जेलसम्मका लागि एकान्तबास (सेल्फ क्वारेन्टाइन) आवासको व्यवस्था मिलाउने ।

७. स्थानीय तहमा काम गर्ने कर्मचारी÷कामदारहरुका लागि संक्रमित अवधि समाप्त नहुञ्जेलका लागि जोखिम भत्ता स्वरुप शुरु तलबको कम्तीमा ७५ प्रतिशत रकम उपलब्ध गराउने ।

नेपालभरका स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको पेशागत हकहित संरक्षण, स्थायित्व, कर्मचारीलाई कामगर्ने उपयुक्त कार्यस्थल (वातावरण) निर्माण, पेशागत स्वास्थ्य र सुरक्षाको प्रत्याभूति तथा जनमैत्री सेवा प्रवाह गर्ने साझा कामलाई युनियनको कार्य क्षेत्राधिकार हो । टे«ड युनियन गतिबिधिमार्फत पेशागत सुरक्षा र व्यवस्थामा युनियनले काम गरिरहेको छ । -चन्द्रमणी भट्टराई

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७६