बागमती हेडलाईन न्युज

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले १० करोडको आकस्मिक कोष स्थापना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु. १० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । आज राष्ट्रिय सभा गृहमा बसेको विशेष कार्यपालिका बैठकले यस्तो निर्णय गरेको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । उक्त कोषबाट उक्त भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडाहरुलाई क्रमश रु. २ लाख, रु.३ लाख र रु.४ लाख रुपैयाँका दरले निकासा पठाइने भएको छ ।

‘कोरना भाइरस रोकथाम तथा नियन्त्रणसँगै डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु तयार गरेर सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, प्रचार सामाग्रीसहितका हेल्प डेक्सहरु स्थापना तथा सञ्चालन गरिनेछन् । उहाँकाअनुसार महागरपालिकाभित्र भएका मठ, मन्दिर, मस्जिद, गुम्वा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भीडभाड नगर्न सर्व साधारणलाई अनुरोध गर्ने निर्णय पनि वैठकले गरेको छ ।’

कोरना भाइरसको शंका भएमा के गर्ने जस्ता स्थानीयमा हुन सक्ने अन्यौलमा सहयोग गर्न जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सै घण्टा हेल्प डेक्स सञ्चालन गरिनेछ । त्यस्तै आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा कोरना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामुलक सन्देशहरु लगातार सम्प्रेषण गर्ने–गराउने, नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिलाई क्रियाशील बनाउने जस्ता निर्णय पनि बैठकले गरेको छ । त्यस्तै महानगरपालिकाको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा (१०२) लाई उच्च सतर्कतामा राखी परिचालन गर्ने, अर्को व्यवस्था नभएसम्मका लागि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले भोत भतेरको आयोजना नगर्ने र अरुले गरेको भोजमा सहभागी नहुने, सार्वजनिक कार्यक्रम हुन नदिने निर्णय भएको छ ।

कोभिड — १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने, उपप्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका क्रियाशील बनाउने निर्णय भएको छ । महानगरमा धुमधाम मनाइने पाहाँचह्रे, सेतो मच्छिन्द्रनाथको रथयात्रा, घोडेजात्राजस्ता भीडभाड हुने पर्वहरुमा फैलिन सक्ने संक्रमण नियन्त्रण गर्न यसपटक रथयात्रा नगर्न गुठियारहरुसँग छलफल गरिने प्रमुख शाक्यको भनाइ छ । नियमित पूजा आराधना चलिरहन्छ, भीड गरेर रथयात्रा गर्ने काम यस बर्ष नगर्ने यसको सट्टा अर्को बर्ष झन् घुमघामले गर्ने उहाँले बताउनुभयो ।
महानगरले हेल्पडेक्स स्थापना गरेपछि त्यहाँबाट मास्क र स्यानिटाइजर निःशुल्क बितरण हुनेछ । हामी स्थानीय सरकार जनताप्रति बढी जिम्मेवार छौं । त्यसैले पैसाको कुरा होइन, जनस्वास्थ्यमा थप समस्या आउन नदिन हामीले स्यानिटाइजर र मास्क निःशुल्क वितरण गर्ने निर्णय गरेका हौं । प्रमुख शाक्यले निर्णयका बारेमा थप जानकारी दिँदै भन्नुभयो — महानगरको कार्यालय तथा कार्यकक्षमा डिस्इन्फेक्सन गर्ने तयारी गरेका छौँ । नडराउन तथा सजग हुन महानगर क्षेत्रका सूचना, होर्डिङ तथा डिजिटल बोर्डबाट प्रचार तथा डिस्प्ले गर्ने व्यवस्था मिलाउने छौँ ।’

पत्रकार सम्मेलनमा डिपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले — महानगर क्षेत्रका अति भीड हुने ठाउँहरु बसपार्क, सार्वजनिक यातायातलगायतका क्षेत्रमा सहयोग कक्ष स्थापना गर्ने बताउनुभयो । रोगको महामारी फैलिएर यो व्यवस्था गर्न लागिएको होइन, डा. पाण्डेले थप्दै भन्नुभयो — अहिलेसमम निको भएको १ जना बाहेक अरु बिरामी भेटिएका छैनन् । हामीले गरेका प्रयोगशाला परीक्षणलाई अन्तरराष्ट्रिय प्रयोगशालामा पनि पठाएर दोहोरो परीक्षण गरेका छौं । हामीले गरेको परीक्षणमा अहिलेसम्म अर्को नतिजा आएको छैन ।
हामीसँग परीक्षण गर्ने उपकरण प्रशस्त छन् । रुघाखोकी सामान्य समस्या भएका मानिस पनि कोरोना परीक्षणको अपेक्षा लिएर आउनुहुन्छ । यसबेला हामी जरुरी नहुने परीक्षण गर्दैनौं । यसलाई नकारात्मक टिप्पणी गरिएको हो, उहाँले भन्नुभयो — उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने गरी काम गरिरहेका छौं ।

त्यस अघिको कार्यपालिका बैठकमा वडाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले — केही समय लक डाउन नै गर्नु पर्ने अवस्था देखिएको धारणा राख्नुभएको थियो भने वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल र वडा १७ का अध्यक्ष नविन मानन्धरले — कोरोनाभन्दा कालोबजारी खतरा भएकोले स्थानीय जनजीवनलाई सहज बनाई राख्न यसमाथिको कडा निगरानी गर्नुपर्ने सुझाव राख्नुभएको थियो । कलंकी क्षेत्रमा खसी बजार भएकोले बिशेष निगरानी गरिएको वडा १४ की अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले कोरोनाको संक्रमण, रोकथाम तथा नियन्त्रणका बिषयमा कम र कालोबजारीले बिगारेको व्यवस्थापन सपार्न महानगरले के गर्छ भन्नेमा केन्द्रीत प्रश्नहरु राख्नुभएको थियो । कोरोना रोकथामसँगै कालोबजारी र सुरक्षा प्रबन्धमा पनि उत्तिकै चनाखो हुन आवश्यक रहेको सञ्चारकर्मीहरुको भनाइ सार थियो ।

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७६