हेडलाईन न्युज

नेकपाका आन्तरिक भेला स्थगित 

२०७६ फाल्गुन  २०

काठमाडौँ  :  सत्तारुढ नेकपाले प्रदेशको आन्तरिक राजनीतिक प्रशिक्षण तथा भेला रोकेको छ । मंगलबार प्रदेश १ को भेला अन्तिम समयमा आएर रोकिएको हो ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा-सम्मेलन नगर्न आग्रह गरेको थियो। त्यसैअनुसार प्रदेश भेला स्थगित गरिएको नेकपा प्रदेश १ का इन्चार्ज भीम आर्चायले बताए। उनका अनुसार भेला रोक्न केन्द्रले निर्देशन दिएको थियो।

झापा विर्तामोडमा म‌ंगलबारका लागि प्रदेश १ को राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम तय भएको थियो। कार्यक्रमका लागि वरिष्ठ नेता झलनाथ खनाल सोमबार नै त्यहाँ पुगेका थिए। प्रशिक्षणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा लगायतका नेता पनि सहभागी हुने कार्यक्रम थियो। गृहमन्‍त्री रहेका थापा झापा जान विमानस्थलसमेत पुगिसकेका थिए। उनी त्यहींबाट फर्केका छन्।

बुधबार सुखानी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेकपा अध्यक्ष दाहाल र महासचिव पौडेलले सम्‍बोधन गर्ने कार्यक्रमसमेत स्थगित भएको आचार्यले बताए।

नेकपाले कर्णाली, सुदूरपश्चिम, ५ नम्बर प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेला गरिसकेको छ।

आन्तरिक विवादका कारण प्रदेश २ मा भने नेकपाका संगठनात्मक काम प्रभावित हुँदै आएका छन्। विवादका कारण प्रदेश २ मा भेलाको मितिसमेत तय हुन नसकेको प्रदेश सहइन्चार्ज विश्वनाथ साहले बताए। नेकपाले विशेष अभियानअन्तर्गत तयारीका रुपमा यस्ता भेला तथा प्रशिक्षणको आयोजना गरिएको छ

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २०, २०७६