अन्तर्वार्ता/विचार हेडलाईन न्युज

महरा अवसानमा रत्यौली मनाउनेहरुले जवाफ दिनु नपर्ने ??

सुनकोशी न्युज,
२०७६ फल्गुण ५
काठमाण्डौं । असोज १२ गते सभामुख निवास बालुवाटारबाट बलात्कार कसुरमा फसाइ गरिफ्तार गरिएका तात्कालिन सभामुख कृष्णबहादुर महराको बारेमा पत्रकारहरुसँग पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले ‘कृष्ण बहादुर महरालाई अब संसदले सांसदको रुपमा चिन्दैन’ भन्नुभएको थियो । त्यही लाइनमा प्रदिप ज्ञावली, युवराज खतिवडा, इश्वर पोखरेल लगायतले पनि अपराधै गरेको हो भनेजसरी अभिव्यक्ति दिनुभएको थियो ।

त्यसको केही समयपछि प्रधानमन्त्री केपी ओलीले कान्तिपुर दैनिक पत्रिकालाई अन्तरवार्ता दिदै मन्त्रीमण्डलले पास गरेर सदनमा पेस गरेको एमसिसि संसदमा टेबुल नगरेको, एमसिसि पास गर्न आनाकानी गरेकै कारण महराको यो हालत भएको, यसको जिम्मेवार उनी आफैं भएको र सरकारलाई असहयोग गरेको आरोप लगाउनु भएको थियो । चिनियँ राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमण रोक्न खोज्ने तत्व पनि उनको भूमिकासँग खुसी थिएन ।

त्यसयता लगातार संचारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले महराबिरुद्ध अभिव्यक्ति दिनुभएको छ । उहाँहरुको अभिव्यक्तिको आसय सारमा सरकारले पास गर्न पेस गरेको एमसिसि संसदमा टेबुल नगर्नु हो र महरालाई नफसाई यो सम्भवै छैन, त्यसैले उहाँलाई फसाइयो भन्ने हुन्थ्यो । पूर्व एमालेबाट नेकपामा केन्द्रीय सदस्य भएका सूर्य थापाले यसबारे बोल्ने विशेष जिम्मेवारी पाएका थिए । उनी कस्तो र के बोल्छन्, किन बोल्छन् भन्ने कुरा त राजनीतिक बजारमा अहिले तातो चर्चाकै विषय बन्ने गरेको छ । उनलाई विश्लेषक दिल निसानी मगरले रोगी भनेका छन् । त्यस्तै अर्का पात्र थिए विष्णु रिमाल । उनीहरुनिकट मिडियाले समेत अदालतको फैसला समेत नपर्खि महरालाई बलात्कारी भन्दै अनेक गालीगलौज गर्न बाँकि राखेनन् । त्यो प्रक्रिया अदालतको फैसला आएपछि पनि रोकिएको छैन ।

यसरी हेर्दा के देखिन्छ भने महरालाई कुनै पनि बहानामा जसरी पनि सिध्याउनै पर्छ, कमसेकम राजनीतिक रुपले सिध्याउनु पर्छ, उनलाई अब सार्वजनिक जीवनमा फर्किन दिनै हुदैन भन्नेमा शक्ति प्रयोग गरिरहेको स्पष्ट देख्न सकिन्छ । यसमा उनीहरुको स्वार्थ एमसिसिसम्म मात्र सीमित देखिदैन । पार्टी एकतापछि एकताको एउटा पक्षलाई सिध्याउने तत्वको कुत्सित मनसाय यसमा विम्वित देखिन्छ ।
महरा प्रचण्डलाई साथसहयोग दिने प्रमुख नेतामध्य सबैभन्दा खास हुन् । अर्कोपक्षसँग नलतारिइकन अध्यक्ष प्रचण्डलाई साथ दिइरहनुको कारण एमसिसि जसरी पनि पास गर्न कस्सिएका र जबजलाई हनुमानको बुटीझैं कण्ठीमा झुण्ड्याउनेहरुको निद हराम भएको र त्यही कोटरीको षडयन्त्रको सिकार महरा भएको स्पष्ट छ ।

प्रचण्डलाई कमजोर पार्नसके पूर्वमाओवादी खेमालाई लतार्न सकिने, त्यसका लागि प्रचण्डका खास पिलरहरुलाइ ढाल्न सके यो सम्भव हुने र खास पिलरहरुमध्य पनि खास भनेको महरा नै हुन् भन्ने अन्तिम निक्र्यौलमा पुगेपछि सारै मिहिन मिहिनेतपछि मात्रै महरालाई जालमा पार्न त्यो कोटरी सफल भएको थियो । जो असफल भइसकेको छ । त्यो कोटरीमा यतिबेला अध्यारो छाएको हुनुपर्छ ।

आफ्ना पार्टीका नेतालाई लागेको आरोपबारे अपराधी नै हो भनेर बोल्न, पत्रकार सम्मेलन गर्न हतारिने केही असाध्य राम्रा भनिएका नेताहरुले अब जनताको कठघरामा जवाफ दिनुपर्ने छ । अप्रमाणि आरोपकै कारण सहकर्मीलाई किन धारेहात लगाएको ? भनेर इतिहासले उनीहरुसँग यसको जवाफ मागिरहने छ । महरा अवसानमा रत्यौली मनाउनेहरुले के अब नेपाली जनतालाई जवाफ दिनु नपर्ने ??

अबका दिन महराका लागि पनि पक्कै सहज छैनन् । नगरेको गल्तीका लागि उनले अपमानित हुनुप¥यो । बदनाम हुनप¥यो । सम्माननीय हैसियत गुमाउनु प¥यो । जिवनभरि समाजसेवा गरेर कमाएको इज्जतमा दाग लाग्यो । यो राजनीतिक अन्तरसंघर्षका कारण भयो । भित्री र बाहिरी दुश्मनका कारण भयो । जनताले यो कुरा बुझिसकेका छन् । उनी आफ्नो राजनीतिक तथा सार्वजनिक जीवनमा फर्किन कुनै समस्या नहोला । तर आरोप एकपटक लागिसकेपछि समाजमा त्यसको खण्डन हुन् धेरै समय लाग्छ । अदालतको एउटा फैसलाले मात्रै त्यसलाई चम्काउन सक्दैन । यसको मतलब महराले आफ्नो राजनीतिक जीवनमा सधैं असल र राम्रा काम मात्रै गरेका छन्, गल्ती नै गरेका छैनन् भन्ने पक्कै पनि होइन । उनीबाट पनि गल्तीहरु भएका छन् । रोशनी शाही जो सँग महराको नाम नकारात्मक ढंगले जोडियो र उनलाई नै प्रयोग गरेर महराको चरित्रहत्या गर्ने कोसिस गरियो, यसका बारेमा उनले जवाफ दिनुपर्छ ।

आखिर नेपाली कम्युनिष्ट आन्दोलनमा रोशनी शाहीहरु किन निरन्तर कमजोरी बन्छन् महराहरुको ? यो प्रश्नको जवाफ महराले मात्र नभएर नेकपाका धेरै नेताहरुले दिनुपर्ने हुनसक्छ । किनकी शेरधन राईले आफूलाई वर्षैंदेखि यौन शोषण गरेको भनेर बालुवाटारमा न्यायमाग्न धाउनेदेखि भदैसालाकी श्रीमति कुदाउनेहरुलाई पातकी भन्ने जेठी श्रीमीहरुको गुनासो ढेडुहरुको भिडमा अहिले हराए पनि कुनै दिन सतहमा आउनसक्छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ५, २०७६