खेल हेडलाईन न्युज

अमेरिकाविरुद्धको जितमा कुशलको अर्धशतक र करणका चार विकेट महत्वपूर्ण

सुनकोशी न्युज,

२०७६ माघ २५

काठमाडौ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित दर्ता गरेको हो।

यो जितका लागि करण केसी नायक बने। उनले अमेरिकाको महत्वपूर्ण चार विकेट लिए।  केसीले अमेरिकाका लागि ७५ रन बनाएका महत्त्वपूर्ण ब्याट्सम्यान इआन होल्यान्डको विकेट लिन सफल भए।

करणले नेपाललाई ९औं सफलता दिलाउने क्रममा ७५ रन बनाएर खेलिरहेका होल्यान्डलाई क्याच आउट गराएका थिए। पाँचौ क्रममा ब्याटिङ गर्न आएका होल्यान्डले सम्हालिएर खेल्दै ७ चौका हिर्काए। उनको विकेट गुमेसँगै अमेरिकामाथि दबाब सिर्जना भएको थियो।

त्यसअघि करणले एकै ओभरमा २ विकेट लिएका थिए। अन्तिम ओभरमासमेत करणले नै विकेट लिएर नेपाललाई जित दिलाएका हुन्।  नेपालका लागि सुशन भारीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। यसै खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशल मल्लले १ विकेट हात पारे। अमेरिकाको महत्वपूर्ण चार विकेट लिएका करण म्यान अफ दि म्याच बनेका छन्।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा १५५ रन बनाउँदै सबै विकेट गुमायो। उसका लागि इआन होल्यान्डले सर्वाधिक ७५ रनको पारी खेले। उनले ७ चौका हिर्काएका थिए। त्यस्तै क्यामेरोन स्टेभेन्सनले १९ रन तथा करिमा गोरले १० रन जोड्नबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

यसअघि खराब सुरुवात गरेको नेपालका लागि भरपर्दा ब्याटस्म्यान शरद भेषावकर घाइते भएपछि उनको स्थानमा आएका सुवास खकुरेल तीन रनमै पेभिलियन फर्किएका थिए। कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए भने उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पेभिलियन फर्किएका थिए। पारस खड्का १९ रनमा आउट हुँदा खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पेभिलियन फर्किए।

बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए बनाएर नयाँ रेकर्ड बनाए। तीन छक्का र चार चौकासमेत प्रहार गर्दै कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन्। यस्तै विनोद भण्डारीले ५९ रन बनाए। उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने। करण केसीले १२ तथा सुशन भारीले ११ रन बनाए।

अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई/दुई विकेट लिए। करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक–एक विकेट लिए। यो जितसँगै नेपाले दुई अंक जोडेको छ ।  यसअघि बुधबार नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६