पर्यटन हेडलाईन न्युज

श्री स्वस्थानी ब्रतकथाको अन्तिम दिन, सालीनदीमा लाखौं भक्तालुको भिड

  • सरला कार्की

सुनकोशी न्युज, २०७६ माघ २५

काठमाण्डौं । पौष २५ गते पूर्णिमाबाट सुरु भएको श्री स्वस्थानीको ब्रत बस्ने र कथा सुन्ने पर्व माघ २५ गते सकिएको छ । आज अन्तिम दिन देशभरीका लाखौं भक्तालुहरु सालीनदीमा स्नान गर्न र माधवनारायणको पूजा गर्न साँखु पुगेका छन् । गाडि र पैदल यात्रुको अत्याधिक भिडका कारण नदी र मन्दिरसम्म पुग्न घण्टौं लाग्ने गरेको भक्तालुको गुनासो छ । तर स्थानीय युवा र प्रहरीले ट्राफिक तथा भिडलाई व्यवस्थित गरेको देखिन्थ्यो ।
हरेक वर्ष माघको पहिलो पूर्णिमाबाट सुरु हुने ब्रतकथामा शक्तिकी देवी श्री स्वस्थानी परमेश्वरीको कथा भन्ने र सुन्ने गरिन्छ । नेपालमा हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर तथा श्रद्धाका साथ मान्ने भगवान शिव–पार्वती र स्वस्थानीको महिमा रहेको कथा सन्दा पुन्य मिल्ने विश्वास गरिएको छ । मनोकाँक्षा पूरा गर्न र मनले चाहेको फल प्राप्त गर्न यो ब्रत सबैले लिने गर्दछन् । खासगरी नेपालका पहाडी जिल्ला र काठमाण्डौं उपत्यकाभित्र यसलाई विशेष पर्वको रुपमा पनि मनाइन्छ ।
एक महिनासम्म विभिन्न बन्धनमा बसेर ब्रत बस्ने, दिनैपच्छिे नुहाउने, पुजा गर्ने, तोकिएको मात्र खाने र कथा श्रवण गर्ने गरिन्छ । कथाको अन्तिम दिन माधवनारायणको विशेष पूजाआराधना गरेर स्वस्थानी ब्रतकथा सकिन्छ ।
कथामा बयान गरिएको सालिनदी काठमाण्डौंको उत्तर–पूर्वमा अवस्थित पुरानो सुन्दर शहर साँखुमा पर्दछ । जहाँ पार्वति लगायतले भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्न नदीको किनारमा ब्रत बसेको उल्लेख छ । अहिले पनि साँखुको सालीनदी र साँखु बजार क्षेत्रमा कथामा उल्लेख गरिएका घटनाक्रम, पात्र र कथाको अवशेष देख्न सकिन्छ ।
हालै एक अमेरिकी युवतिले श्री स्वस्थानी ब्रतकथामा विद्यावारिधि गरेकी छिन् । संसारमा श्री स्वस्थानी ब्रतकथाको महिमा र यसको महत्वबारे चासो बढेको देख्न सकिन्छ ।

 

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६