स्थानीय हेडलाईन न्युज

धुराबजार–ढुंग्रेबास जोड्ने ग्वाङखोला र दोभान–रुचानी जोड्ने चँदाहाखोलामा पक्कीपुल बन्ने निश्चित

सनकोशी न्युज,
२०७६ माघ २०
सिन्धुली । कमलामाई नगरपालिका, वडा नं. ४ ढुंग्रेबास बजारबाट वडा नं. ६ धुराबजार जाने ग्वाङखोलामा पक्की पुल बन्ने भएको छ । ७० मिटर लम्बाईको उक्त पुल आर्क डिजाइनमा बन्नेछ । जसको वापिारि दुईवटा मात्र पिलर रहनेछन् ।
डिजाइन एण्ड बिल्ड योजना अन्तर्गत बन्न लागेको उक्त पुलको अन्तिम सर्वे सम्पन्न भई ठेक्का प्रक्रियाका लागि सूचना प्रकासित गरिएको सडक विभाग, पुल महाशाखा, चाकुपाट ललितपुरका प्रमुख दिपक भट्टराईले जानकारी दिनुभयो ।
पूर्व कृषिमन्त्री तथा प्रतिनिधिसभा सिन्धुली–२ का सांसद माननीय हरिबोल गजुरेलको विशेष पहल र सक्रियतामा उक्त पुल बन्न लागेको हो । सिन्धुलीकै सबैभन्दा पुराना दुई बजार ढुंग्रेबास र धुराबजार जोड्ने पुल अहिलेसम्म बन्न नसक्दा आवत–जावत गर्न धेरै समस्या भएको स्थानीय तथा सडक विभागका वरिष्ठ इन्जीनियर राजेन्द्र शर्मा बताउनुहुन्छ । धेरै पहिला बनिसक्नुपर्ने उक्त स्थानमा पुल अहिले ढिलै भए पनि बन्न लागेकोले सिन्धुलीका दुई बजारलाई नजिकैबाट जोड्ने सांसद गजुरेल बताउनुहुन्छ ।
यसैगरी सिन्धुलीको सोही नगरपालिकाको वडा नम्बर १० मा पर्ने दोभानटार र वडा नम्बर १३ मा पर्ने रूचानी जोड्ने चँदाहा खोलामा पनि सोही डिजाइनको पक्की पुल निर्माण हुने भएको छ । यो पुलको लम्बाई १२५ मिटर हुनेछ । भिमानपारिका जनतालाई दुधौलीसँग सिधै जोड्ने यो पुलले यो भेगको विकासमा उल्लेख्य योगदान पु¥याउने वडा नं. १० का वडाध्यक्ष कैलाश ढुंगेल बताउछन् । मदन भण्डारी राजमार्गको पारिपटि पर्ने यो सडकलाई कमला नदीले अलग गरेको छ । पूर्वबाट बगेर आएको चँदाहा नदीले ठाडो काटेकाले दुधौलीसँग यो भेगका जनताको सम्पर्क टुटेको थियो । चँदाहा खोलामा पक्की पुल बनेपछि यतापट्टिको सडक मार्ग पनि बैकल्पिक सडक मार्गको रुपमा विकास हुने स्थानीय नेता पुण्यहरि घिमिरे बताउनुहुन्छ ।

 

प्रकाशित मिति: आइतवार, माघ १९, २०७६