स्थानीय हेडलाईन न्युज

मरिण महोत्सवको समापनमा बागमतिका कृषि मन्त्री, उल्लेख्य उपलब्धी भयो : अध्यक्ष बम्जन

सुनकोशी न्युज,
२०७६ माघ १९
सिन्धुली । मरिण गाउँपालिकाको सहानफाँटमा माघ ७ गतेबाट संचालन गरिएको महोत्सव तथा व्यापार मेला आज समापन गरिएको छ । भव्य समारोहका बीच मेला समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका कृषि, भूमि मामिला तथा सहकारी विकास मन्त्री दावा दोर्जे लामाले महोत्सव समापन समारोलाई संवोधन गर्नुभएको हो ।
१३ दिसम्म संचालन भएको मेलामा सवालाख मानिसहरुले मेलाको अवलोकन गरेका थिए । काभ्रे, मकवानपुर, रामेछाप, सर्लाही, रौतहट लगाय जिल्ला र सिन्धुलीका मरिण, घ्याङलेक, हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिकाबाट मेलामा सहभागिता रहेको थियो । मेलामा विभिन्न व्यापारजन्य र मनोरञ्जनजन्य स्टलहरु राखिएको थियो । साथै, कृषि क्याम्पसले कृषिजन्य विभिन्न प्रदर्शनी पनि राखेको थियो ।
स्थानीय माछा र खानेकुराको परिकारले मेला हेर्न आउनेको मन लाभ्याएको थियो । मेलामा विभिन्न राष्ट्रियस्तरका कलाकारले नृत्य तथा गायन प्रस्तुति गरेका थिए भने स्थानीय विभिन्न जातिका सांस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो । मेलामा सिन्धुली कलाघरका कलाकारहरुले विभिन्न कला प्रस्तुत गरेका थिए ।
मरिणको मधुवनी डाँडबाट प्याराग्लाइडिङ उडाएर मेला लागेको स्थानमा अवतरण गरेर मनोरञ्जन दिने व्यवस्था मिलाइएको थियो । मरिणमा पहिलो पटक आयोजना गरिएको यो मेलाले मरिण क्षेत्रको विकासमा राम्रो भूमिका खेलेको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन बताउनुहुन्छ ।
समापन कार्यक्रममा सिन्धुलीका बागमति प्रदेशका सांसदहरु बषन्त माझी, प्रदीप कटवाल, विनोद खड्का, गाउँपालिका अध्यक्ष पानीराज बम्जन, नेता रामकुमार पौडेल, विमर्श मोक्तान लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता उधोग बाणिज्यसंङ मरिण साखाका अध्यक्ष चिनधोज बम्जनले गर्नुभएको थियो ।
फोटोहरु ः

 

 

प्रकाशित मिति: आइतवार, माघ १९, २०७६