अन्तर्वार्ता/विचार हेडलाईन न्युज

पृथ्वीनारायणलाई त्यो बेलाको सापेक्षतामा सम्मामन गर्दा केही बिग्रिदैन

सुनकोशी न्युज,

बिदुर खड्का, २०७६ पौष २७
आज पौष २७ गते, अर्थात नेपालका पुराना राजा पृथ्वीनारायण शाहको जन्मदिन । नेपालमा जनयुद्ध र जनआन्दोलनको बलले संघीय लोकतान्त्रिक गण्नतन्त्र स्थापना हुनुपूर्व नेपालभरि आजको दिनलाई राष्ट्रिय एकता र एकीकरण दिवसको रुपमा मनाइन्थ्यो । नयाँ व्यवस्थामा आजको दिनलाई कसैले कालो दिनको रुपमा मनाउने गरेका छन् त अझै पनि कतिपय पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने जिकिर गरिरहेका छन् ।
यसरी जिकिर गर्नुमा पक्कै पनि राजनीतिक कारण त हुने नै भयो । नेपालबाट राजतन्त्र समाप्त भएको छ । राजतन्त्र सामन्तवादको प्रतिक हो । राजाहरुको जन्मदिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउनु भनेको सामन्तवादको अवशेषलाई बचाइराख्नु हो भन्ने तर्क पनि सही नै हो । नयाँ व्यवस्थामा नयाँ संस्कार र संस्कृतिको विकास र प्रयोग गर्दै जाने हो । जनताले सहजै स्वीकार गरेका संस्कृति र परम्परालाई संरक्षण गर्ने हो । जनताबाट परित्यक्त संस्कृति, परम्परा, रितिरिवाज सबै जनताबाटै तिरस्कृत हुदै जान्छन् । कसैको जोडबलले त्यसलाई बचाउन सक्दैन । जनप्रिय छ भने त्यसलाई कसैले चाहेर पनि हटाउन सक्दैन ।
पृथ्वीनारायणको जन्मदिन मनाउने कि िनमनाउने ? किन मनाउने ? वा, किन नमनाउने ? भन्ने विषयमा पनि बहस भएको छ । यसरी बहस हुनु राम्रो कुरा हो ।
पृथ्वीनारायणको समयमा अहिलेको सिंगो नेपाल कुन रुपमा थियो ? सबैलाई थाहै छ, सयौं टुक्रामा बिभक्त अहिलेका गाउँपालिका जस्ता राज्य र ततिनमा शासन गर्ने छोटेराजाहरु थिए । त्यसैमध्यका थिए एकजना, पृथ्वीनारायण शाह । उनी अरुभन्दा चतुर र शक्तिशाली भएका कारण संसारभरि भौगोलिक साम्राज्यवाद अर्थात लडाईं जितेर भूगोल कब्जा गर्ने, त्यसमा गएर शासन गर्ने, बजार, स्रोत र साधन कब्जा गर्ने र त्यहाँका जनतालाई दास बनाउने चलन थियो । बेलायती साम्राज्यवाद व्यापारिको भेषमा भारतसम्म आइसकेको थियो । भारतलाई उसले कब्जा गरिसकेको थियो । जतिबेला राजा पृथ्वीनारायण गोरखाका राजा बनेका थिए । ब्रिटिस साम्राज्य भारतबाट नेपालतर्फ उकालो लाग्दैथियो ।
नेपालमा त सिंगो नेपाल थिएन । सानासाना टुक्रेराज्य थिए । यिनीहरुलाई क्वापक्वाप निल्न उसका लागि कुनै गारो कुरा थिएन । हुनसक्छ, पृथ्वीनारायणमा पनि सानासाना राज्यलाई आक्रमण गरेर ठूलो देशको बादशाह बन्ने उत्कट महत्वकाँक्षा थियो होला । त्यसैबाट उत्प्रेरित भएरै उनले कर्णलीपारिदेखि पूर्वका पल्लो किरातसम्मका सबै भूरेटाकुरे राज्यलाई लडाईमा जितेर विशाल नेपाल बनाए । सिन्धुलीगढीबाट काठमाण्डौं कब्जा गर्न आएको ब्रिटिस फौजलाई सिन्धुलीगढीमै धुलो चटाए । त्यो लडाइंमा हारेको अंग्रेस लामो समयसम्म नेपालमाथि आक्रमण गर्ने साहस देखाउन सकेन । राजतन्त्रमा स्वभाविक रुपमा वंशपरम्परा अनुसार नै राजा हुन्छन्, स्वभाव जस्तो भएपनि । परिवारकैले नायवी लिएर राजाको सन्तान नावालक भएपनि शासन चलाउछन् । तर पृथ्वीनारायणपछिका उनका सन्तानले पनि नेपाललाई अंग्रेजबाट बचाउन र भूगोल रक्षा र विस्तारमै समय बिताएको देखिन्छ । यसमा नेपालका सबैखाले र सबै भूगोलका जनताको भूगोल र वीरता र साहसको पनि उत्तिकै भूमिका रहेको छ ।
पछिल्लो समयमा दरबारभित्रको अन्तरविरोध, हारेका रजौटाहरु र मौकामा घात गर्ने विभिन्न तत्वका कारण नेपालको शासन व्यवस्था धरासायी भयो जुन राजतन्त्तको स्वभाविक अपरिहार्यता थियो । त्यसले पछिल्ला दिनहरुमा लडाईंमा खटेका सेना र सेनाका कमाण्डरहरुको मनोबल घटाएको थियो । अमरसिंह थापा, बलभद्र कुँवर जस्ता कमाण्डरहरुसँग परामर्श नगरी सुगौलीसन्धी गरिदा अमरसिंह दरबारै नगइ सिधै गोसाइकुण्ड गएर मरे भने बलभद्र पाकिस्तानी फौजमा भर्ती हुन गएर अफगानिस्तानसँगको लडाइँमा मरे ।
यहँ प्रश्न उठ्छ, अंग्रेजले दक्षिणबाट र मंगोलियन फौजले उत्तरबाट दपेड्दै ल्याएको बेला वर्तमान नेपालको अस्तित्व के हुन्थ्यो ? के अलग अलग रुपमै नेपालका त्यसबेलाका राजाहरु मिलेर विदेशी फौजको सामना गर्न सहमत हुनसक्थे ? विदेशी फौजको डटेर सामना गर्न नसकेको भए के आजको नेपाल सार्वभौम सिंगो नेपालकै रुपमा रहन्थ्यो ? वा भारत र चीनको भूभागको रुपमा रहन्थ्यो ? सजिलै भन्न सकिन्छ, नेपाल रहने थिएन । भूगोल भारत र जनता भारतीय हुने निश्चित थियो । जसले जे भने पनि पृथ्वीनारायणले त्यसबेला आफू स्वयम युद्धमा होमिएर सबै साना राज्यलाई एउटै राज्यमा गाभे र त्यसलाई गोरखा राज्य बनाएनन् । उनले जहाँ जहाँ लडाई जिते पनि युद्धजितेपछि त्यहाँका जनता र हारेका सेनाको कदर गरे । त्यहाँको भाष, संस्कृति र समाजलाई स्वीकार गरे र त सबै जनताले उनलाई पनि हरेक लडाँइमा साथ दिए ।
नेपालमा हज्जारौं वर्षदेखिको इतिहासमा हज्जारौं राजा भए । तर ती सबै महान थिएनन् । केहीले मात्रै ततकालिन समाजको आवस्यकतालाई बुझेर काम गरेका थिए । समयको माग र आवश्यकतालाई आत्मसात गरेर समाजको आवश्यकताअनुसार कदम चालेर सफल हुने, समाज, देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर शासन गर्ने राजाहरु स्वभाविक रुपमा त्यस समयका नेता हुन् । यदि त्यो नेतृत्वको अगुवाईले सही परिणाम ल्याउदैन थियो भने परिस्थिति अहिले देखिएको भन्दा फरक पनि हुनसक्थ्यो ।
कीर्तिपुरका नेवारहरुको नाककान काटेको लगायत घटनालाई देखाएर उनलाई राक्ष्सीकरण गर्नुभन्दा उनका गुण र दोषलाई तात्कालिन समयको सापेक्षता र आवश्यकताको कसीमा राखेर पूर्वाग्रह नराखी मूल्यांकन गर्दा न्यायसंगत होला । सामाजिक न्यायबाट कसैले मुन्टो बटार्न मिल्दैन । पृथ्वीनारायण त्यो समयका हिरो थिए भन्दा कसैले हिनताबोध गर्नुपर्दैन । र, आज हामी जुन अधिकारका कुरा गरिरहेका छौं यही भूमिमा बसेर, त्यसको श्रेय त्यसबेलाका नेपाली जनता, वीर योद्धाहरु र पृथ्वीनारायणलाई नै जान्छ । त्यो हिसावले आज हामीलाई बुर्कुसी मार्ने आँगन जोगाइदिने हाम्रा पुर्खालाई सम्मानपूर्वक सम्झदा कसैको कुनै हकअधिकारको हनन् नहोला भन्ने लाग्छ ।
जहाँसम्म उनका दरपुस्ता अहिलेका शाही खलक राजाभनौदाहरु, तिनका वरिपरि घुम्दै तलुवा चाट्नेहरुको चुमचुम छ, त्यो बेकार छ । हामी नेपालीले पृथ्वीनारायणलाई सम्झिरहँदा, सम्मान गरिरहँदा उनीहरु खुसी हुनुपर्ने आवश्यक छैन । पृथ्वीनारायणलाई हामी यस मानेमा सम्मान गर्छौं कि उनले त्यो समयको सापेक्षतामा सही काम गरेका थिए । यसको मतलब उनका बिग्रेका सन्तान, मतिभ्रष्ट अनुयायी र त्यहीबेलाको पुरातन अव्यवहारिक व्यवस्थाको पक्षपोषण भन्ने हुदैन । हामी गौतम वुद्धलाई महामानव भन्दै उनका विचारको व्यवहारमा अनुसरण गर्ने कोसिस गर्छौं तर उनले जस्तै रुखमुनि बसेर ध्यान गर्ने बेवकुफी गर्न सक्दैनौं । महान मानवहरुले तत्कालिन समय र परिस्थितिको सापेक्षतामा गरेका कार्यको सराहना गरिरहँदा वर्तमानमा पनि त्यही गर्नुपर्छ भन्ने हुदैन । अहिले हामी पृथ्वीनारायणले जस्तो राज्यविस्तार गर्दै हिड्न सक्दैनौं ।
पृथ्वीनारायणले जे गरे त्यसको जसअपजस उनैलाई जान्छ, त्यसको व्याज उनका वारौं तेरौं सन्तानले गााँजा भाँङधतुरो खादै लुटिरहन पाउदैन । पृथ्वीनारायण महान थिए भन्नुको मतलव ज्ञानेन्द्र शाह र पारस शाह वा हिमानी शाह महान छन् भन्ने हुदैन । वर्तमान समयमा नेपाली जनताको चुनावी मतबाट मात्र शासन गर्न सक्छ ।
कुनै पनि प्रजातान्त्रिका वा समाजवादी मुलुकले आफ्नो देशको इतिहास भुल्दैन । त्यो इतिहास सापेक्षित रुपमा राम्रो वा नराम्रो जे पनि हुनसक्छ । चीनले कन्फ्युसियस र सन् यात्सेनलाई भुल्न सक्दैन । भारतले सम्राट अशोकलाई भुल्न सक्दैन । अमेरिकाले अब्राह्म लिंकनलाई भुल्न सक्दैन । यावत रुपले सबैको एतिहास र त्यो समयका नेताहरु हुन्छन् । तर वर्तमानमा उनीहरुको स्थान सम्मानसम्म मात्रै कायम हुन्छ, त्यो पनि गुण र दोषको आधारमा ।
यसैले इतिहासका महापुरुषहरुको जीवनी सम्पूर्ण रुपमा अनुकरणीय वा त्याज्य हुदैन । तर सम्माननीय भने पक्कै हुन्छ । पृथ्वीनारायणलाई सघाउने बिशे नगर्ची, कालु पाण्डेहरु पनि उत्तिकै सम्मनीय छन् । लडाइंका क्रममा उनका सेनाले देखाएकोे बर्बरता उतिकै आलोचनायोग्य पनि छन् । तर समग्रमा हामी उनले निर्माण गरेको सिंगो नेपालको भूगोलमा टेकेर लिम्पीयाधुरा र सुस्ता भारतसँग फिर्ता माग्न सक्ने अवस्थामा छौं भन्ने हेक्का राख्न पनि जरुरी छ ।
फेरि पनि जोड दिन जरुरी छ कि त्यो बेलाको सापेक्षतामा मात्रै उनको कार्य सही थियो । अबको समय मानवीय आवश्यकता र अन्तरबिरोधहरुको समाधान समाजवादमा मात्रै हुनसक्छ र हाम्रो यात्रा समाजावदतिरै हो । इतिहास नभुल्ने, इतिहासको सम्माननीय पात्रहरुलाई सम्मान गर्दै हामी अगाडिको यात्रामा सफल हुन सक्छौंं भन्ने लाग्छ ।

प्रकाशित मिति: आइतवार, पुस २७, २०७६